Logo

२३ भदौ,  काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी, हिन्दू धर्मावलम्बी महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् ।

यस दिन महिलाले बिहानै नदी, खोला, ताल, तथा पोखरीमा तीन सय ६५ वटा गनेको दत्तिउनले दाँत माझ्दछन् भने गाईको गोबर, माटो र खरानी लगाएर नुहाउँछन् ।

रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट मुक्ति प्राप्त हुने धार्मिकग्रन्थमा उल्लेख गरिएको बताइन्छ ।

महिलालाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने विश्वास रहेको छ ।

यसर्थ आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानीको प्रयोग गरी नुहाएर पञ्चगव्य सेवन गर्नाले छाइछुईको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

आजको दिन बिहान नुहाएपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित सात ऋषिको पूजा गरिन्छ । सात ऋषिको पूजा गरिने भएकाले आजको दिनलाई ऋषिपञ्चमी भनिन्छ ।

ऋषिपञ्चमीको पूजा गरेपछि नरोपीकन उम्रिएका अन्न, कन्दमूल, कर्कलो आदि खाएर व्रत लिइन्छ । आज ऋषेश्वर मन्दिरलगायतका मन्दिरहरुमा महिलाले ऋषिपञ्चमीको पूजा गर्ने गर्दछन् भने नदी किनार वा घरमै पनि पूजा लगाउने गर्दछन् । आज ऋषिपञ्चमीको पूजा सकिएपछि दर खाएर शुरु भएको तीज पर्व समापन भएको मानिन्छ ।


सम्बन्धित समाचार