Logo

२३ भदौ,सेढवा । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको छ ।

तीन वर्षदेखि बन्द रहेको सुपौली इलाकाबाट आजदेखि नागरिकता वितरणको सेवा पुनः सुरु भएको हो । इलाका प्रशासन कार्यालय सुपौलीको एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरेपछि नागरिकता वितरणसहितको सेवा सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कार्यालयको उद्घाटन गरेपछि पुनः ग्रामिण भेगबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको हो । प्रमुख जिल्ला अधिकारीले कार्यालयको उद्घाटन गरेसंगै इलाका प्रशासनको कार्यालयबाट पासपोर्टबाहेकको सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुपौलीबाट नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचय पत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य गरिनेछ । कर्मचारीको अभावमा ०७९ सालदेखि इलाका प्रशासन कार्यालय सुपौलीबाट गरिने सेवा प्रवाहको कार्यक्रम रोकिएको थियो ।

कर्मचारीको अभाव रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले त्यहाँबाट प्रवाह हुने सेवा बन्द गरेको थियो । सेवा बन्द भएपछि जनतालाई सामान्य कामको लागि पनि सदरमुकाम धाउदा धेरै सास्ती खेप्नुपर्ने बाध्यता बढ्दै गएपछि त्यसलाई मध्यनजर गरेर सेवा प्रवाहको काम सुरु गरिएको हो ।

सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्‍याउने हेतुले इलाका प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयबाट हुने कामकामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । सुपौली प्रशासन कार्यालयमा एक जना अधिकृतसहित ७ जनाको टोली राखेर इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

सुपौली इलाकाबाट नागरिकता वितरणसहितको सेवा सुरु भएपछि ४ वटा पालिकालाई प्रत्यक्ष फाइदा पुग्ने जनाइएको छ । ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकालाई प्रत्यक्ष फाइदा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारको निर्णय अनुसार ०७५ सालको पुस महिनादेखि सुपौलीबाट सेवा सुरु गरिएको थियो ।

उद्घाटनशत्रमा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित अन्य सरकारी कर्मचारीका प्रतिनिधि एवम राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता थियो । सैबिच सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मानित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मानित गरेको हो ।


सम्बन्धित समाचार