Logo

२३ भदौ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ ।

बैठकले मधेसमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि सङ्घर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले मधेस प्रदेशका प्रमुख सहरका साथै सबै जिल्लाहरूमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ । यस्तै काठमाडौँमा पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय प्रदेश, जिल्ला, पालिकाहरूमा कार्यान्वयन गरिने र त्यसका लागि योजना समेत निर्माण भएको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए ।

दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि भन्दै तेस्रो जनआन्दोलनको उद्घोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा चरणबद्ध अगाडि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।

आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिवद्वय चन्द्रभुषण साह, सियाराम कुशवाहा, सचिवद्वय बाबुराम कौशिक, श्रीचन्द्र मुखिया लगायतको बैठकमा विशेष उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार