Logo

२४ भदौ,वीरगञ्ज । कोरोनाकलादेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ ।

थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा समितिका तर्फबाट रित्ता कन्टेनर फिर्ता लैजान र बन्दरगाह व्यवस्थित गर्न आग्रह गरिएको हो ।

समितिका कार्यकारी निर्देशक आशिष ज्ञवालीका अनुसार कोरोना महामारीको समयमा रेलमा कार्गो भरिएर आउने तर रित्ता कन्टेनर नलैजाने गर्दा धेरै कन्टेनर बन्दरगाहमा थुप्रिएका थिए । कुनै समय १८–१९ सय कन्टेनर थुप्रिएकोमा अहिले रित्ता कन्टेनरको संख्या ११ सय २० वटा रहेको छ । जसमध्ये लिमिटेडका मात्र ५५१ वटा छन् ।

वीरगञ्ज सुक्खा बन्दरगाहमा ७ सय वटासम्म रित्ता कन्टेनर भने राख्ने गरिएको छ । यसो गर्दा कार्गो रेलले ल्याएका भरिभराउ कन्टेनर बन्दरगाहमा छाडी रित्ता कन्टेनर रेलमा पठाउने गरिन्छ । यसो गर्दा माल–सामान अनलोडमा लाग्ने समय कम भई काम छिटो हुन्छ । तर, आवश्यकताभन्दा दोब्बर कन्टेनर भरिँदा व्यवस्थापनमा समस्या भएको समितिले जनाएको छ । कन्टेनर फिर्ता लगेर सुख्खा बन्दरगाहमा कार्गो ह्यान्डलिङ सहज र व्यवस्थित गर्ने विषयमा समिति र लिमिटेडबीच सहमति भएको समेत समितिले जनाएको छ ।

वीरगञ्जमा रहेका दुई बन्दरगाहमध्ये सुक्खा बन्दरगाहमा कार्गो रेलमार्फत मालसामान ल्याउने गरिन्छ । एकीकृत जाँच चौकीबाट भने मालवाहक सवारीसाधन मार्फत सामान आउने गर्छ ।


सम्बन्धित समाचार