Logo

२५ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष नेपालले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताउनुभयो । यद्यपी निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रश्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताउनुभयो । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले उम्मेदवारहरुले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरुप आफू तटस्थ बसेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताउनुभयो । उहाँले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताउनुभयो । उहाँले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ रु भनि प्रश्न समेत गर्नुभयो । उहाँले पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको बताउनुभयो ।


सम्बन्धित समाचार