Logo

२६ भदौ, बारा । बाराको निजगढमा एक व्यक्तिले खुर्पा प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन् । निजगढ नगरपालिका वडा नम्बर ९ भमरा टोलका ४२ वर्षीय विमल बस्नेतले आफ्नै श्रीमति ३८ वर्षीया लक्ष्मी राईको गएराति (मंलबार राति) हत्या गरेका हुन् ।

बस्नेतले शौच गर्न बसेकी राईको घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

आमालाई बचाउन गएका दुई छोरी समेत घाईते भएका छन् । बस्नेतको खुर्पा प्रहारबाट उनकी छोरीहरु १७ वर्षीया गंगा राई र जमुना राईको हातमा चोट लागेको छ । उनीहरुको वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

श्रीमान् र श्रीमतीबीचको घरायसी विवादका क्रममा मदिरापान गरेका बस्नेतले रिसको झोंकमा राई माथि खुर्पा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक कुशवाहाले बताए ।

बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको तथा राईको शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

मृतक राईले दुई छोरी सहित ७ वर्ष पहिले बस्नेतसँग दोश्रो विवाह गरेकी थिईन् । यसकै कारण अहिले आएर विवाद भएको हुन सक्ने प्रहरीको आशंका छ ।


सम्बन्धित समाचार