२६ भदौ, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशङ्का गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।
यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म पुगेका थिए । घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन् ।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानविनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिँदै यसमा लापरवाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिनुभयो । परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उहाँले बताउनुभयो । यसको निष्पक्ष छानविन हुनैपर्नेमा जोड दिँदै उहाँले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइराख्नुपर्ने बताउनुभयो । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउनसक्ने उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पतिवियोगमा रहेकी अध्यक्ष यादवका श्रीमतीले देखाएको धैर्य र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउण्डेशन बनाउन र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमानको निधनको सत्यतथ्य कारण पत्ता लागे आफूहरुलाई न्याय महसुस हुने उल्लेख गर्नुहुँदै यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसहित पार्टीसँग अनुरोध गर्नुभयो ।
यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ठूलो सङ्ख्यामा स्थानीयको उपस्थिति थियो ।