Logo

२८ भदौ,वीरगञ्ज । टयाङ्कर चालकलाई कारबाहीको माग गर्दै बीरगन्ज महानगरपालिकाको अलौंमा भएको प्रदर्शन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको लामो छलफलपछि आन्दोलन स्थगित भएको हो ।

एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) मा बिहानदेखि जारी आन्दोलन जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्तापछि दिउँसोदेखि स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा तीन बुँदे सहमति भएको थियो । सहमतिपछि मृतकका आफन्त एवम परिवारजनले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको उपस्थितीमा भएको वार्तामा मृतक टिनु कुमार साह तुराहाको परिवारलाई क्षतीपूर्तीबापत ९ लाख ५० हजार रुपैँया उपलब्ध गराउने, अस्पतालको खर्च व्यहोर्ने तथा दुर्घटनाग्रस्त मोटरसाइकल मर्मतमा लाग्ने खर्चसमेत ब्यहोर्ने सहमति भएको हो ।

सिडिओ कार्यालयमा भएको सहमतिपछि मृतकको शव नारायणी अस्पतालमा पोष्टमार्टमपश्चात अन्त्येष्टीका लागि परिवारजनले लगेको प्रहरीको भनाइ छ ।

हिजो ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । जसमा मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए । गम्भिर घाइते उनको उपचारका क्रममा गएराती नै अस्पतालमा मृत्यु भएको हो ।

ट्याङ्कर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै आज विहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरिया तनावपूर्ण बनेको थियो । विहान ६ बजेदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शनमा उत्रिएका प्रहरीले जनाएको छ ।

टयाङ्कर र चालकलाई भने प्रहरीले हिजैदेखि आफ्नो नियन्त्रणमा राखेको बताएको छ ।

 


सम्बन्धित समाचार