Logo

२९ भदौ, काठमाडौँ । आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

यसैबीच सडक दुर्घटनाका घाइतेहरुले बेलैमा प्राथमिक उपचार नपाउने गरेको अवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको १० वर्षमा २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । दुई लाख ६० हजार वटा भन्दा धेरै दुर्घटनामा ५० हजार जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

कतिपयले घटनास्थलमै ज्यान गुमाउँछन् भने धेरैको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा ज्यान जान्छ । यदि दुर्घटनास्थल र बाटोमा उचित प्राथमिक उपचार पाएमा ज्यान गुमाउने र घाइतेले भोग्नुपर्ने अपाङ्गताको समस्या कम गर्न सकिने डाक्टरहरु बताउँछन् । तर नेपालमा दुर्घटनास्थल तथा बाटोमा प्राथमिक उपचार दिने अभ्यास नै छैन ।

यातायात सुधार सुझाव कार्यदलले गएको माघमा सरकारलाई बुझाएको प्रतिवेदनले पनि दुर्घटनाका घाइतेहरुले प्राथमिक उपचार नपाएको देखाएको छ ।

सरकाले २०७९ सालमा गठन गरेको कार्यदलले २०८० साल माघमा बुझाएको प्रतिवेदनमा दुर्घटनास्थलमा उद्धारको पहिलो काम गर्नेमा नजिकै भएका बटुवा, अन्य गाडीका चालक, प्रहरी लगायत रहने उल्लेख छ । तर उद्धार गर्नेहरुमा प्राथमिक उपचार सम्बन्धी ज्ञान कम हुन्छ ।

सामान्य ज्ञान नभएकाहरुले प्राथमिक उपचार गर्दा जटिलता थपिने डर पनि हुन्छ । कार्यदलको प्रतिवेदन अनुसार दुर्घटनास्थलबाट घाइतेहरूलाई अस्पताल पुर्‍याउँदा ५४ प्रतिशतभन्दा बढी ट्याक्सी वा बाटोमा गुडिरहेका अरु गाडीको प्रयोग हुन्छ ।

जसमा प्राथमिक उपचारको व्यवस्था हुँदैन । घाइते ओसार्न प्रयोग हुने एम्बुलेन्समै पनि प्राथमिक उपचारका पर्याप्त सामाग्री नहुने गरेको धुलिखेल अस्पतालको आपतकालीन सेवाका डाक्टर सानुकृष्ण श्रेष्ठ बताउनुुहुन्छ कम्तीमा एम्बुलेन्समा प्राथमिक उपचारका आधारभुत सामग्री र प्राथमिक उपचार जानेका एक जना व्यक्ति समेत राख्नुपर्ने उहाँको सुझाव छ ।

यस्तै सबै गाडीमा प्राथमिक उपचारका न्यूनतम बस्तुहरु राख्न सकेमा दुर्घटना भइहालेमा घाइतेको अबस्था खराब हुनबाट जोगाउन सकिने उहाँ बताउनुहुन्छ ।


सम्बन्धित समाचार