Logo

२९  भदौ, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो समयमा सुविधा सम्पन्न चारतारे होटलहरुमा लगानी थपिदै गएको छ । भारतीय पर्यटकहरुलाई लक्षित गरी सीमाक्षेत्रमा होटल तथा पर्यटन व्यावसायमा लगानी थपिदै गएको हो ।

 

आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जको आदर्शनगरस्थित स्काइलाइन मलमा सुविधा सम्पन्न चारतारे ‘सरोबर पोर्टिको’ होटल सञ्चालनको अन्तिम तयारीमा छ । भारतमा एक सय भन्दा बढी होटलहरू सञ्चालन गर्दै आएको सरोबर होटल्सले नेपालमा ५ भन्दा बढी होटलहरू खोल्ने लक्ष्य राखेको छ ।

वीरगञ्जमा सञ्चालनमा आउन लागेको यो ‘सरोबर पोर्टिको’ अत्याधुनिक होटल समूहको मुख्य परियोजना मध्ये एक हो । यस होटलमा ६० वटा पूर्ण रूपमा वातानुकूलित (एसी) कोठाहरू रहनेछन्, । जहाँ पाहुनाहरूले आरामदायी अनुभव गर्न सक्नेछन् । यसका साथै, २४ घण्टा खाना सेवा, स्विमिङ पूल, स्पा, जिम, र ३ तलामा रहेको भव्य बैंक्वेट हलले व्यापारिक र पारिवारिक कार्यक्रमहरूको आयोजना गर्न उपयुक्त स्थानको खोजीमा रहेकाहरुलाई सहज हुनेछ ।

होटलको ७, ८ र ९ तलामा कोठाहरू र २ तलामा स्विमिङ पूल, स्पा र जिम रहेको छ । यसमा पाहुनाहरूलाई विश्राम र मनोरञ्जनको भरपूर अनुभव मिल्ने छ । पहिले नै सञ्चालनमा रहेका सुविधा सम्पन्न क्युएफएक्स सिनेमा, विश्वप्रसिद्ध केएफसी, पिजा हट र क्रिम बेलले पनि पर्यटक र स्थानीयलाई समेत सेवा दिइरहेको स्काइलाइन मलमा सुविधा सम्पन्न चारतारे होटल सञ्चालनले आतिथ्यता क्षेत्रमा योगदान पुर्‍याउने छ ।

विश्वस्तरीय ब्राण्डहरूको उपस्थिति र सुविधाहरूले वीरगञ्जलाई एक आकर्षक गन्तव्य बनाइरहेको छ । स्थलमार्गबाट सहज पर्यटकीय गन्तव्यको रुपमा रहेको नेपालमा भारतीयहरु विवाह समारोहका लागि पनि आउने गरेका छन् । सरोबर पोर्टिकोको सञ्चालनमा आएपछि यसले त्यस्ता विवाहा, उत्सव लगायतका अन्य अन्तराष्ट्रिय स्तरका सभा सेमिनारहरुको लागि पनि सेवा सुविधा दिन सक्ने छ ।

अन्तराष्ट्रियस्तरको चेन होटल सरोबर पोर्टिकोको प्रवेशले वीरगञ्जको होटल व्यवसाय र पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । अत्याधुनिक सेवा र सुविधाका कारण, यो होटलले व्यवसायिक आगन्तुकहरूलाई आकर्षित गर्नुका साथै पारिवारिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको पनि पहिलो रोजाइ बन्ने सम्भावना छ । होटलको आगमनसँगै वीरगञ्जले पर्यटकहरूलाई आकर्षित गर्न सक्ने क्षमता विस्तार गर्नेछ, जसले समग्रमा स्थानीय अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार