Logo

३० भदौ,जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मनिष रमण साहले १ हजार ५७२ तथा जितेन्द्र प्रसाद साहले २९३ मत पाएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघको सम्बद्ध सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरी तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एक जना सुनचाँदीबाट दुई जना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।


सम्बन्धित समाचार