Logo

३० भदौ,वीरगञ्ज । पर्सा गण्डक नहर सडकखण्डमा पर्ने तिलावे पुल भासिएको छ । नेपाल पूर्वी नहर तिलावेको करिब ७० मिटर लामो पुल भासिएको हो ।

पुलको फाउण्डेसन कमजोर भएर पीलरमा के्रक आएपछि पुल भासिएको नारायणी सिंचाईको कार्यालयले जानकारी दिएको छ ।
गण्डक नहर सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल मर्मत सम्भारको अभावमा जीर्ण भई भासिएको नारायणी सिंचाई कार्यालयका प्रमुख मनोज पटेलले बताए ।

उनका अनुसार पुलको आयु सकिएपछि मर्मत सम्भार नहुँदा भार थेग्न नसकेर भासिएको हो । उनले भने, ‘कुनै पुलको आयु करिब ४५देखि ५० वर्षको हुन्छ, यो भनेको ५० भन्दा बढी हुन लाग्यो । यसको क्षमता, आयु सबै कमजोर भइसकेको छ । मर्मत सम्भारको अवस्था पनि उस्तै छ। त्यसकारण यो भासिएको हो ।’

पुल निर्माण भएको करिब ५० वर्षमा भन्दा बढी भएको छ । जिल्लाको वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ संगको सिमानामा पर्ने पूर्वी नहर तिलावेको पुल गएरातीदेखि भासिएपछि आवतजावत पूर्णरुपमा ठप्प भएको छ ।

जिल्लाको ग्रामिण भेगको लाइफलाइन तिलावे पुलको भासिएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भइरहेको छ ।

पुल भासिएपछि साइकल, मोटरसाइकल, चार पाङ्ग्रे, तथा हेभी सवारीसाधान पूर्णरुपमा ठप्प भएको छ । जसकारण नहरको बाटो भएर आवतजावत गर्ने सर्वसाधारण अर्को घुमाउरो बाटो भएर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको डकैला बहुअवरीका दिनेश यादवको गुनासो छ ।

उनले भने, ‘पुल सञ्चालन उपचार वा अन्य कामका लागि सदरमुकाम जान बहुत कम समय लाग्ने गथ्र्यो, तर अहिले सदरमुकाम जान धेरै समय लाग्ने भएको छ । यसको कारणले खासगरी सिकिस्त विरामीलाई कठिनाइ भइरहेको छ, यो पुल चाँडै सञ्चालनमा आएन भने एकदम कठिनाइ हुन्छ, सर्वसाधारणलाई ।’ दैनिक हजारौंको संख्यामा पुलबाट सर्वसाधारण आवतजावत गर्ने गरेको स्थानीय बताउँछन् ।

बहुदरमाइ नगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी, जगरनाथपुर, पटेर्वा सुगौली गाँउपालिकाकासहित ग्रामिण भेगका स्थानीयलाई आवागमनमा समस्या भएको छ । पुल भासिएपछि आवतजावतमा कठिनाइ हुँदा सर्वसाधारणले सामाजिक सञ्जालदेखि लिएर विभिन्न निकायसम्म पुल मर्मतको गुनासो गरिरहेका छन् ।

सर्वसाधारणले पुल मर्मतको गुनासो गर्न थालेपछि प्रदेश सांसद श्याम पटेलले आइतबार पुलको स्थलगत निरीक्षण गरेका छन् । सिचाइ कार्यालय प्रमुखसहित सम्बन्धित निकायको कर्मचारीहरुको टोली लिएर प्रदेश सांसद पटेलले पुल मर्मतका लागि स्थलग निरीक्षण गरेका हुन ।

निरीक्षणपछि पटेलले उक्त पुल पर्सा जिल्लाका उत्तरी भेगका लागि लाइफ लाइनकै रुपमा रहेकाले यसलाई छिट्टै मर्मत गरेर सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारदेखि केन्द्र सरकारसंग समन्वय गरेर पुल चाँडै सञ्चालनमा ल्याउने प्रदेश सांसद पटेलको आश्वासन छ ।

पुलका अन्य पिल्लरहरु चर्किएका कारण पुल जुनसुकै बेलापनि भत्किएर नदीमा खस्ने अवस्थामा पुगेको नारायणी सिचाइको कार्यालयले जनाएको छ ।

पाँच जना मन्त्रीको आलोचना सुरु

पुल भासिएर आवतजावतमा समस्या भएपछि सर्वसाधारणले प्रदेश सांसद, सांसद तथा जिल्लाबाट भएका मन्त्रीहरुलाई गिज्याउन थालेका छन् ।

चोकचोकदेखि सामाजिक सञ्जालका भित्ताहरु खासगरी मन्त्रीहरु लक्षित आलोचना आउन थालेको छ । सामाजिक सञ्जालमा लेखिन थालिएको छ, ‘जिल्लाबाट पाँच जना मन्त्रीहरु छन्, तर पुल भासिदा सबै बेखबर छन् । सबै मन्त्रीज्यूहरु कहाँ हुनुहुन्छ ? जनताको सेवामा आउनु पर्‍यो ।’

कतिपयले सबै प्रदेश सांसददेखि लिएर मन्त्रीहरुको तस्बिर राखेर हराएको सूचना भनेरसमेत सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।


सम्बन्धित समाचार