Logo

३१ भदौ,काठमाडौं । प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ। समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो। तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो।

सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छलफल गरेको थियो। उनीसँग विशेष गरी राजदूतको सिफारिस समावेशी नभएको बारे छलफल भएको थियो।

त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो। प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन्।

उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन्।

 


सम्बन्धित समाचार