Logo

३१ भदौ,काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् । सिंहदरबारस्थित समितिको कार्यालयमा आज भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद दाहाल नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्ती राईलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।

दाहालले आठ मत पाइन् भने राईले सात मत पाइन् । दाहाललाई नेपाली कांग्रेसका चार, एमालेका तीन र जनता समाजवादी पार्टी नेपालका एक सांसदले मत दिए। यस्तै राईलाई नेकपा (माओवादी केन्द्र)का पाँच, एकीकृत समाजवादीका दुई सांसदले मत दिएका थिए ।

पन्ध्र सदस्यीय समितिमा पहिलो चरणमा दुवै उम्मेदवारले सात–सात मत पाएका थिए । ध्वनीमतका आधारमा मत बराबर भएपछि समितिका ज्येष्ठ सदस्य एवं सभापति कृष्णप्रसाद सिटौलाले निर्णायक मत दिएका थिए । सिटौलाको एक मत प्राप्त गरेपछि दाहाल सभापतिमा निर्वाचित भइन् ।

दाहालको प्रस्तावमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा एमालेका भगवती न्यौपाने तथा राईको प्रस्तावकमा एकीकृत समाजवादीका डा बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश आले मगर थिए। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचित सभापतिद्वयलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ ।


सम्बन्धित समाचार