Logo

२ वीरगञ्ज, असोज । मुलुकमा शासन गर्ने व्यक्ति खराब हुँदा संविधानमाथि प्रहार हुने गरेको वक्ताहरुले बताएका छन् । संविधान दिवसको अवसरमा ‘संविधानको औचित्य’ विषयमा वीरगन्जको ज्ञानदा एकेडेमीले आयोजना गरेको विचार गोष्ठीमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ अधिवत्ता रामेश्वर सेंढाईले नेपालमा संविधान लुगा फेरे जस्तो फेरी रहँदा जनताको आधारभूत अधिकारहरुको पहुँच कम भएको बताए । उनले २०७२ सालमा जारी गरिएको अहिलेको संविधान अभ्यासमा रहेको बताउदै संविधानको अक्षरसः पालना भए मात्रै त्यसको औचित्य हुने बताए ।

संसारका धेरै मुलुकहरुमा एकपटक बनाएको संविधान परिवर्तन नगरिएको उदाहरणहरु रहेको भन्दै पटक पटक संविधान फेर्नुपर्ने अवस्था भनेको लोकतन्त्र नभएको देशमा मात्रै हुने बताए । संविधानको दिगोपनाका लागि देशमा पहिला लोकतन्त्र स्थापना हुनुपर्ने र लोकतन्त्र स्थापनापछि शासन गर्ने शासकहरुको प्रवृत्ति र आचरण सही हुनुपर्ने बताए ।

बिशिष्ट अतिथि डा.सुष्मा तिवारीले वर्तमान संविधान नेपालको नयाँ संविधान भएको बताउदै संघीयता र पहिचानको लागि गरिएको आन्दोलनको परिणाम स्वरुप नयाँ संविधान आएको बताईन् । लामो समयको आन्दोलन पश्चात आएको सुन्दर तथा बिश्वको उत्कृष्ट संविधान रहेको बताउदै डाक्टर तिवारीले यो संविधानले सबैभन्दा धेरै मौलिक हकको रुपमा व्यावस्था गरेको बताईन् ।

स्वतन्त्रको हक, महिलाको हक, सूचनाको हक लगायतका ३१ वटा मौलिक हको सूची संविधानमा उल्लेख गरिएको बताईन् । ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोईरालाले संविधान देशको मूल कानून भएकोले देश रहेका हरेक तहका नागरिकले संविधानको सम्मान गर्नुपर्ने बताए । नेतृत्व सबल रहे संविधानको सम्मान हुने र देश बिकासको गति अगाडि बढ्ने बताए ।

राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापिका जागृती मिश्र, एकाडेमिक हेड संध्या बशिष्ठ, सञ्चारकर्मी, ज्ञानदा एकेडेमीका विद्यार्थी तथा विभिन्न कलेजका कानून संकायका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शंकर आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक राम पाण्डेले गरेका थिए ।


सम्बन्धित समाचार