Logo

२ असोज,काठमाडौँ । २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ ।
हालै सम्पन्न सचिवालयले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको एमालेको २४ पेज लामो एक बर्से कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरूको सूची समेटिएको छ ।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ ।
एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर भदौ ३१ पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ । गएको निर्वाचनबाट हाम्रो पार्टी पहिलो पाटी बन्न त सफल भएको छ तर अपेक्षित मात्रामा जनआधार विस्तार गर्न सकेको छैन’, एमालेले भनेको छ, ‘आगामी निर्वाचनमा जनआधार विस्तार गरी त्यसलाई दिगो बनाई निर्णायक तहमा पार्टीलाई पु¥याउँनुपर्दछ ।’

त्यसका लागि एमाले नेतृत्वको विकासको योजना, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण विस्तार र नयाँ पुस्तामा पार्टी काम लगायत पाँच वटा विषयलाई प्राथमिकतामा राखेको छ ।

नयाँ पुस्तामा पार्टी काम शीर्षक अन्तर्गत एमालेले नयाँ पुस्तामा पार्टी काम पु¥याउने र नेतृत्वमा विकासको योजना कार्यान्वयन गर्न प्रदेश कमिटीमा १०, जिल्लामा १५, पालिकामा २० र वडा तथा टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढङ्गले लागु गर्ने जनाएको छ ।

साथै प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ ।

‘नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पु¥याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’, एमालेको कार्ययोजनामा भनिएको छ,‘ युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम (काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्ट अप सम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने ।’

‘समृद्ध नेपाल सुखी नेपाल’को राष्ट्रिय अभियानमा युवाको सार्थक सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ चालीस वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजना गर्ने कार्ययोजना बनाएको एमालेले शिखर सम्मेलनको अवसरमा व्यापक जनपरिचालन गर्ने जनाएको छ ।


सम्बन्धित समाचार