Logo

२ असोज,वीरगञ्ज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यहाँका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

महानगर प्रमुख सिंहले ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँगै बसेर उनीहरुको पठनपाठनको अवस्था र विद्यालयको भौतिक स्थिति लगायतका बारेमा जानकारी लिनु भएको हो ।
उहाँले विद्यार्थीहरुलाई आफूसँग रहेको पाठ्य सामग्रीको अधिकतम उपयोग गर्दै पढाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रूपमा अघि बढाउन विद्यार्थीहरूलाई उनले आग्रह गर्दै विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका वारेमा पनि जानकारी लिनुभएको थियो । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको मेयर सिंह बताउनु हुन्छ ।

उहाँले आज वीरगंजको नगवास्थित सनलाई मा.वि. र पावरहाउस स्थित कादम्बरी मा.वि.मा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको हो । महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अवस्था जानकारी लिने हेतुले आफू विद्यालयमा पुगेको उहाँको भनाई छ ।

महानगर प्रमुख सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरूलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै हौसला मिलेको सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले बताउनु भयो ।
महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरूको हौसला बढाउन कक्षा लिनुभएको थियो ।


सम्बन्धित समाचार