Logo

३ असोज, धनुषा ।  हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा फेरि चोरी हुन थालेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोरिने क्रम बीचमा रोकिए पनि बुधबार देखि फेरि चोरी हुन थालेको छ ।

मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश गएको छ । बुधबार जानकी मन्दिरमा भीडभाडका कारण गर्भगृह अगाडि लगाइएको फलामे बार्केट हटाउँदा आधा दर्जन महिलाको सुनको औंठी, सिक्रिदेखि गरगहनासम्म चोरी भएको जनाएको छ । पछिल्लो पटक आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो ।

भारतबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये दुईजनाको घाँटीको सुनको सिक्रि लुटिएको थियो । त्यसपछि मन्दिर परिसरमा र गर्भगृह अगाडि समेत सिसिटिभि क्यामेरा जडान गरिएको थियो भने फलामे बार्केट लगाइएपछि चोरी न्यूनीकरण भएको थियो । तर बुधबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरुको अत्यधिक भीडभाड थियो । सो क्रममा बार्केट हटाइएपछि चोरीको घटनामा वृद्धि भएको स्थानीय एक महिलाले बताइन् ।

यस प्रकारको घटना नियमित भइरहे पछि मन्दिरमा पर्याप्त सीसी टीभी क्यामरा जडान गरिएको छ । तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी कैमरा जडान गरिएको थिएन । मन्दिरमा श्रद्धालुहरुको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको विवाहमण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ । हाल सम्म मन्दिरमा श्रद्धालुहरुको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन् । न, त चोर नै समातिएको छ ।

मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । त्यो कोठादेखि १५ मिटरको दूरी भित्र नै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आज सम्म स्नेचिंगगर्नेको पहिचान समेत गर्न सकेको छैन । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्नसमेत उठाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दाबी गरे । प्रहरी उपरीक्षक तिवारीले बार्केट हटाउनु परेको कारण र चोरी भएको घटनाबारे अनुसन्धान थालिने भन्दै तत्काल चोरी नियन्त्रण गर्ने बताए ।

मन्दिरको सुरक्षा व्यवस्था
मन्दिरमा तीर्थयात्रीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न, मन्दिर परिसरमा सिसिटिभी क्यामेरा र पर्यटन प्रहरी राखिएको भए पनि चोरीका घटनाले सुरक्षा व्यवस्थामा त्रुटि रहेको देखाएको छ। प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्, किनकि चोरीका घटनाहरूको पहिचान र नियन्त्रण प्रभावकारी भएको छैन।

मन्दिर प्रशासन र स्थानीय प्रहरी मिलेर मन्दिरको सुरक्षा अझ सुदृढ गर्ने योजना बनाउँदै छन्, ताकि श्रद्धालुहरूले बिना त्रास पूजा–अर्चना गर्न सकून्।


सम्बन्धित समाचार