Logo

३ असोज,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विरोध र समर्थनका बिचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने उहाँको तर्क छ ।

संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठुला दल एक ठाउँमा आएको भन्नुहुँदै संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गरी अघि बढ्न सकिने उहाँले बताउनुभयो । उहाँले सङ्घीयता विभिन्न खालको आन्दोलनबाट प्राप्त भएकाले यो कसैले भन्दैमा समाप्त नहुने दाबी गर्नुभयो । उहाँले सङ्घीयता आएको सात वर्ष मात्रै भएको र प्रदेशले अधिकारहरू प्राप्त गरिरहेकाले हतार गर्न नहुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री सिंहले देशमा सङ्घीयता आएपछि विभिन्न खालका उपलब्धि र विकास भएको भन्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो । उहाँले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको भन्नुहुँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने तर्क गर्नुभयो ।

यसैगरी, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान संशोधनको नाममा प्रतिगमनको उन्मुख भयो भने वर्तमान संविधान नै समाप्त हुने खतरा समेत रहेको भन्नुहुँदै संविधानलाई सही ढङ्गले परिमार्जन गरी देशलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कर्मचारी र विद्यार्थीमा सीमित भएको संविधान दिवसलाई जनमानसमा उत्सवको रूपमा लैजानुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा धेरै विचारहरू रहेको छ । त्यो सबै विचारको साझा विचार संविधान हो । आजको दिन कालो दिवस मनाउनु मूर्खता हो ।’’

सभामुख मण्डलले वर्तमान संविधानमा गरिब धनी सबैले आफ्नो भविष्य देख्छ भन्दै संविधान जीवन दर्शन रहेको बताउनुभयो । उहाँले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यति राम्रो संविधानलाई प्रयोग गर्न सकेनौ भने परिणाम राम्रो नहुने भन्दै यसका लागि प्रयोगकर्ता इमान्दार भइदिनुपर्ने बताउनुभयो ।

त्यस्तै, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान तह सङ्घीयता आए पश्चात् गाउँ गाउँमा विकास भएको भन्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधानले नै संशोधनको बाटो खोलेका कारण संविधानभित्रमा रहेका त्रुटिहरूलाई पहिचान गरी संशोधन गर्न सकिने भएकाले संविधानको विरोध गर्नु उचित नभएको बताउनुभयो । कार्यक्रममा संविधानको विकास क्रम र सङ्घीयताको अवस्था सन्दर्भमा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरूले देशभक्तिका गीतहरूमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम अगावै जनकपुरधामको रमानन्द चौकबाट बिहान ७ बजे प्रभावत फेरी निकालिएको थियो । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार