Logo

५ असोज,सेढवा । लामो समयदेखि बर्षा नहुँदा किसानहरुले लगाएको बर्षेबाली धान नराम्रोसँग प्रभावित भएको
किसानहरुले दुखेसो गरेका छन्।

बर्षा नहुदा खास गरी गण्डक नहर भन्दा उतरतर्फका किसानहरुका धानबालीमा समस्या भएको किसानहरुले जनाएका छन। गण्डक नहरभन्दा उतरतर्फ रहेको ठोरी , जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउपालिका तथा पर्सागढी नगरपालिकाका किसानहरुको धानबाली प्रभावित हुँदा चिन्तित बनेका हुन्।

धानको बाला निस्किने तथा गाभा पलाउने समयमा पानी नपरेका कारण किसानहरु चिन्तित बनेका छन्। एक साता भित्रै मनी मंसुली धानको बाला निस्किने र सोना मंसुली धानको बिरुवामा गाभा पलाउदै गरेको जिराभवानी गाँउपालिका वडा नं २ सेढवा निवासी किसान राम किशुन चौधरीले बताए। यस बेला बालीमा सिँचाई गर्नु अति आवश्यक रहेको किसान चौधरीले बताए।

पानी नपरेका कारण खेतमा धाँजा फाट्न थालेको छ । किसानहरुले भूमिगत सिँचाई अन्तर्गत दमकलको प्रयोग गरी सिँचाई गरिरहेको चौधरीले बताए। दमकलको लागि डिजेल, मोबिल तथा मर्मत गर्ने मिस्त्रीलाई समेत ज्याला दिनुपर्दा किसानहरु आर्थिक मारमा पर्नुका साथै लागत बढेको र उत्पादन नभएर मारमा पर्ने चौधरीले बताए। बर्षा नभएका कारण किसानहरुले बाँध पैनीको कूलो तथा भूमिगत सिँचाई गरेपनि बर्षाको पानीले जस्तो बालीलाई फाइदा नपुग्ने किसानहरुको भनाई छ।

अन्य समयमा जराको पानी राम्रै काम गरेपनि बाला निस्कने बेला आकाशबाट परेको पानी गाभामा पर्दा बालीको उत्पादन बढि हुने किसानहरुको भनाई रहेको छ । यस बर्ष बालीमा पटक पटक बिभिन्न रोगको संक्रमण तथा बाला आउने समयमा पानी नपर्दा २५ प्रतिशत सम्म उत्पादनमा कमी हुने पटेर्वासुगौली गाउपालिका वडा नं. ३ रामपुरका किसान लक्षणदेव चौधरीको अनुमान छ ।

एक त बालीमा लागेको रोग नियन्त्रणमा नआएको र त्यसमा पनि समयमा पानी नपर्दा उत्पादनमा कमी आउने चौधरीको भनाई छ । अहिले पनि पानी परे उत्पादन ठिकै हुने किसान चौधरीले बताए। बाला निस्किने समयमा बालीलाई धेरै मात्रामा पानीको आवश्यकता हुने हुँदा पानी नपरेको खण्डमा हरेक ३÷४ दिनमा दमकलबाट सिँचाई गर्ने अवस्था आउने किसान चौधरीले बताए। त्यसमा पनि धानका बाला स–साना निस्किने चौधरीले बताए।


सम्बन्धित समाचार