Logo

६ असोज,वीरगञ्ज । सुरक्षित गर्भपतनको बारेमा जनचेतना कमी हुँदा मातृमृत्युदरको संख्यामा न्यूनीकरण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारले सुरक्षित गर्भपतनको कानून नै बनाएर गर्भपतन सम्बन्धि सहज सेवा उपलब्ध गराएपनि जनचेतनाको कमीले गर्दा गर्भपतनका पराम्परागत तरिका र औषधिहरुको सेवन तथा प्रयोगले सुत्केरी महिलाहरुको ज्यान जोखिममा रहेको बताएका छन् ।

स्वास्थ्य लाईभ डटकमले आज वीरगन्जमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धी मिडिया सचेतना कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकामा एउटा मात्रै वगही स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको जानकारी दिदैँ अनिच्छुक गर्भ रहन गएकाहरुले सुरक्षित सेवा लिन सक्ने बताए ।

उहाँले गर्भपतनको विषयमा व्यापक प्रचार प्रसार नहुँदा सेवाग्राहीले सुरक्षित गर्भपतन गर्न नपाएर ज्यान जोखिममा पर्ने गरेको बताउदै यस्तो संवेदनशील विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । उहाँले सुरक्षित गर्भपतनको बारेमा व्यापक जनचेतनाको आवश्यकता रहेको र यसमा सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

नारायणी अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मञ्जु रोयले नेपालमा गर्भपतनको कानूनी व्यावस्था र उपलब्ध उपचार सेवा तथा हालसम्मको गर्भपतनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नेपालमा २००२ देखि केही शर्तहरुको आधारमा गर्भपनतका लागि कानूनी मान्यता प्रदान गरेको र हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पताल तथा सीमित स्वास्थ्य केन्द्रहरुमा गर्भपतनका सेवाहरु उपलब्ध रहेको बताए ।

औषधिद्वारा गर्भपतन गर्ने ७७ वटा जिल्ला अस्पतालका केही स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता वा सो भन्दा माथिको गर्भपतनका लागि ३७ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध रहेको उनले बताए ।

स्वास्थ्य लाइभ डटकमका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुर, वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य शाखाका अधिकृत अनिशकान्त कुश्वाहा लगायतले गर्भपतनको सेवा र अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुप्रिया साहले गरेका थिईन् ।

 


सम्बन्धित समाचार