Logo

६ असोज,सेढवा । बिगत केही दिनदेखि बढेको अत्यधिक गर्मी तथा टण्लापुर घामका कारण दैनिक पठनपाठनमा नराम्रो असर परेको छ ।

केही दिनदेखि गर्मी बढेको र हावा नचल्दा उकुसमुकुस हुँदा बिद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा बस्न नसक्ने अवस्था रहेको जनाएका छन। अहिले बिद्यालयहरुमा बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म बिद्यालय संचालन हुने गरेको छ ।

तर, बिहान १०ः०० बजेदेखि नै अत्यधिक गर्मी, चर्को घाम र हावा नचलेका कारण कक्षाकोठामा बस्दा गर्मी र पसिनाले भिज्ने गरेको बिद्यार्थीहरुले बताए। जिराभवानी गाउँपालिका वडा नं. १ मा रहेको शिवशक्ति प्राबि शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाका अनुसार पानी नपरेपछि गर्मी धेरै हुने र हावा नचल्दा अत्यधिक गर्मी भएर कक्षा संचालन गर्न कठिनाई भएको बताए।

बिद्यालयमा पंखाको व्यवस्था रहेपनि माथि पंखा चलि रहँदा तातो हावा आउने र कक्षाकोठामा रहेका शिक्षक तथा बिद्यार्थीहरु निथ्रुकै भिज्ने गरेको प्रअ सापकोटाले बताए।

प्राथमिक बिद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरु पसिनाले भिज्ने गरेको हुँदा बढी जोखिम रहेको प्रअ सापकोटाको भनाई छ। त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ मा रहेको नेरा माबि निचुटाका प्रधानाध्यापक श्याम घिमिरेका अनुसार एउटा कक्षामा एक सयभन्दा बढी बिद्यार्थी उपस्थिति भएकाले सहनै नसक्ने उकुसमुकुस गर्मी हुने गरेको बताए ।

सबैजसो कक्षा कोठाहरुमा पंखा जडान गरिएको भएपनि पटक पटक बिजुली आउने जाने गरेका कारणले पनि निकै गर्मी भएको प्रअ घिमिरेले बताए। यस्तो गर्मीमा जस्ताको छाना भएको कक्षा कोठाहरुमा पंखा चलाएपनि हावा नआउने गरेको प्रअ घिमिरेले बताए।

सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ मा रहेको श्री भोलेशंकर आधारभूत बिद्यालय औराहा रेन्जका शिक्षक सुरेन्द्र महतोले अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको बताए।

हावा नचलेका र दुई र तीन वटा कक्षाकोठामा १–१ पंखा रहेको र अन्य कोठामा पंखा समेत नभएकाले अहिले कक्षाकोठामा बिद्यार्थी तथा शिक्षक बस्न समेत नसकेको शिक्षक महतोले बताए।

पालिकाले बिहानी कक्षा संचालन गर्न निर्देशन गरे राम्रो हुने शिक्षक महतोले बताए। अहिले ग्रामीण भेगका कतिपय बिद्यालयमा हालसम्म विद्युतीय मिटर समेत जडान भएको छैन।

जसका कारण पंखा समेत जडान नभएको केही शिक्षकहरुले गुनासो गरेका छन्। अत्यधिक गर्मी बढेसँगै जिल्लाको जगरनाथपुर, पकहा मैनपुर गाउँपालिकाका शिक्षा शाखाले सूचना जारी गर्दै असोज ७ गते सोमवारदेखि बिहानी कक्षा संचालन गर्ने निर्देशन दिएका छन्।

जगरनाथपुर गापाका शिक्षा शाखाले आज सूचना जारी गर्दै सामूदायिक तथा धार्मिक बिद्यालय बिहान ६ः०० बजेदेखि कक्षा संचालन गर्ने निर्देशन दिएको छ ।


सम्बन्धित समाचार