Logo

७ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएकाहरुलाई धमाधम पक्राउ गरिरहँदा रवि लामिछानेले भने सोको प्रतिवादमा उत्रने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका हुन् ।

आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने भन्दै आफ्ना कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए ।

उनले सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने । सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए । भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’ त्यसका निम्ति चीनमा गएको आफ्ना नेताहरु स्वदेश फर्कने तयारी गरेको जानकारी समेत उनले दिए ।

रविले प्रतिवाद गर्ने तयारीमा रहँदा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको हो । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

यसअघि जोशीको घरबाट प्रहरीले सहकारी सम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो । उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो ।

टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए । उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो । जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो ।

आइतबार नै गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए।

संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।


सम्बन्धित समाचार