Logo

७ असोज,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा शास्त्रीय संगीत कक्षा संचालनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। शास्त्रीय संगीत अध्यापन प्रतिष्ठान उपसमितिको आयोजनामा सो शास्त्रीय संगीत कक्षा संचालन शुरु भएको हो ।

मधेश प्रदेश सांसद शकर प्रसाद चौधरीले कार्यक्रमको उदघाटन गर्दै वर्तमान अवस्थामा समूदायबाट शास्त्रीय संगीत लोप भइरहेको हुँदा परम्परागत रितिरिवाज संरक्षणका लागि कक्षा संचालनले निकै सहयोग हुने बताए। अहिले कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई बिभिन्न क्षेत्रमा पढाउन तैयार भएपनि संगीत सिकाउन तैयार नहुने गरेको सांसद चौधरीले बताए।

तर, यस क्षेत्रमा पनि आफ्ना सन्ततिलाई ल्याउन सांसद चौधरीले आग्रह गरे। युगौदेखि मनोरञ्जन तथा अन्य शुभकार्यमा चल्दै आएको शस्त्रीय संगीत प्रयोग विहिन बन्दै गएकाले यसको उत्थान गर्न हरेक क्षेत्र तर्फबाट लाग्न सांसद चौधरीले आग्रह गरे।

यस कार्यका लागि प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोगको लागि आफूले पहल गर्ने सांसद चौधरीले बताए। कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले भोजपुरी अश्लिल गित संगितले शास्त्रीय संगितलाई बिस्थापित गरी बिकृति ल्याइरहेको बताए।

सभ्य समाज निर्माण गर्नका लागि समाजले शास्त्रीय संगीत अपनाउनु पर्ने एक मात्र बिकल्प रहेको अध्यक्ष चौधरीले बताए। शास्त्रीय संगीतका लागि आवश्यक जनशक्ति यसै कक्षा संचालनबाट हुने कुरामा आशाबादी रहेको अध्यक्ष चौधरीले बताए। शास्त्रीय संगीतका बिभिन्न सीपमा दक्ष भइ पेशागत संगीतकार बनेर राम्रो आम्दानी गर्न सकिने अध्यक्ष चौधरीले बताए।

अहिले हाम्रै समाजमा यस्ता संगीतकार तथा गायक भएर राम्रो आम्दानी गरी रहेका उदाहरण रहेको पनि बताए । शस्त्रीय संगीतको बिकासका लागि आवश्यक सहयोग गर्न पालिका सधै तैयार रहेको अध्यक्ष चौधरीले बताए। जिराभवानी गाउँपालिका वडा नं ३ नौकाटोलामा रहेको सामुदयिक भवनमा कार्यक्रम सम्पन्न भएको थियो।

शास्त्रीय संगीत अध्यापन प्रतिष्ठान उपसमितिका अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष सुरज राय थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारु, दारा सिंह राउत थारु लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण शिक्षक दिनानाथ महतोले गरेका थिए भने स्वागत मन्तव्य आयोजक संस्थाका सचिव जयप्रकाश महतोले गरेका थिए। शास्त्रीय संगीतको कक्षा संचालन असोज १२ गतेदेखि हुने आयोजकले जनाएका छन।


सम्बन्धित समाचार