Logo

८ असोज, वीरगञ्ज । पर्सा, बारा लगायत तराई क्षेत्रमा आज देखि जितिया पर्व विधिवत रुपमा शुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व आज नहाय खाए अर्थात (नुहाएर खानु) गर्दै विधिवत रुपमा सुरु भएको हो ।

तीन दिनसम्म मनाउने सो पर्वमा मंगलबार (आज) पहिलो दिन ब्रतालु महिलाहरु पोखरी, सरोवर, कुण्ड लगायतका जलाशयमा स्नान गरेर चोखो हुन्छन् । त्यसपछि आफ्नो पित्रिको सम्झनामा घिरौलाको पातमा सर्सोको खाने तेल र पिना (खरी) चढाउँछन् र आ–आफ्ना धार्मिक संस्कार अनुसार भोजन गर्ने चलन छ ।

जितिया व्रत बस्नाले आपप् विपत आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास छ । यस व्रतमा व्रतालुले थुक पनि निल्नु नहुने र अति नियम निष्ठाका साथ मनाउनु परेकाले यसलाई कठोर व्रतको रूपमा लिने गरिन्छ ।

जितिया पर्वको दोश्रो दिन भोलि (बुधबार) बिहान चार बजेदेखि निराहार एवं निर्जला ब्रत बसी विहीबार ब्रत सम्पन्न गर्नेछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।

ब्रतालु महिला बुधबार बिहान चार बजे ओंगठन अर्थात तराई मधेशको भाषमा सरगही (दही चिउरा सक्खर, फलफुल सहितको प्रसाद) खाएर विहीबारसम्मका लागि उपवास बस्छन् ।

उपवास बसेका महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

उता मधेश कै मिथिला क्षेत्रमा हिजो (सोमबार) बाट नै जितिया पर्व मनाउन शुरु गरेका छन् । उता आज निर्जला उपवास बसेर जितिया पर्व मनाईदै छ ।


सम्बन्धित समाचार