Logo

८ असोज,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका आफन्त र नातागोता मिलेर अस्तव्यस्त बनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा भारतमा इञ्जिनियरिङ अध्ययन गरिरहेका युवा अनुज चौधरीलाई नेपाली कांग्रेसबाट पालिका प्रमुखमा उम्मेदवार बनाई विजयी गराए ।

भर्खरको युवालाई स्थानीय तहको ठूलो जिम्मेवारी दिँदा उनको कार्यक्षमता नै कमजोर देखिएको छ । नेतृत्वको कमजोर क्षमताकै कारण अहिलेसम्म गाउँसभा नहुँदा दुईबर्षदेखि स्वयंसेविका महिलाहरुले समेत तलब पाउन नसकेको गुनासो गरेका छन् । पालिकामा सबै आफ्नै आफन्त, नातागोता र सम्बन्धका व्यक्ति भएकोले पनि पालिकामा मनोमानी काम गर्ने गर्दा पालिकावासीहरुले भने सास्ती भोग्नु परेको गुनासो गरेका छन् ।

प्रदेशसभा सदस्यकै भतिज पालिका प्रमुख, वडा अध्यक्षहरु पनि उनै प्रदेश सांसद चौधरीका आफन्त र नातासम्बन्धका व्यक्तिहरु रहेका छन् । जीराभवानी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दारासिंह राउत शंकर चौधरीको नातामा सालो पर्छन् । त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष राजेश्वर दास दारासिंहका सम्धी पर्छन् । वडा नम्बर ३ का वडा अध्यक्ष सुरोज राय राजेश्वरको नाताले मामा पर्छन् ।

तीनै आफन्त र नातागोताको चंगुलमा परेर जीराभवानी गाउँपालिकाको काम अस्तव्यस्त बनेको छ । उनीहरुको आफन्त र नातागोताकै बीचमा भागबण्डा गरेर विकास योजनाका कामहरुमा पनि व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको स्रोतले जनाएको छ ।

पालिकामा शिक्षक कर्मचारी भर्ना गर्नुपरेमा माथि उल्लेखित नाता, सम्बन्धभित्र कै व्यक्तिहरुले रकम उठाउने र कर्मचारी नियुक्त गर्ने गरेको स्रोतले जनाएको छ । स्थानीय तहका कर्मचारीहरुलाई हटाएर करारमा कर्मचारी भर्ना गरेर फाँटको जिम्मेवारी दिएका छन् ।

पालिका प्रमुखकै नातामा पर्ने दीपेन्द्र चौधरीलाई पालिकामा करारमा नियुक्त गरिएको तर, पालिकामा नआई हाजिरी गरेर तलब सुविधा लिईरहेको स्रोतका भनाई छ । पालिकाको योजना समेत उसैले चलाउने गरेका छन् । पालिकामा विकास निर्माणका योजनाहरुमा पनि आफन्त र नातागोतालाई नै बाड्ने गरेको छन् ।

उपभोत्ता समितिमा समेत आफ्नो मान्छे बाहेक बाहिरको मान्छेलाई प्रवेश नै गर्न दिएका छैनन् । लाटोमाई मन्दिरदेखि सेंढवा बजार, परसवा टाडीदेखि सेंढवासम्मको ३० लाखको ग्राभेल हाल्ने योजना आफ्नो नजिकका ठेकेदार समुदा थारुलाई दिएका छन् । पालिकाका अधिकांश जनप्रतिनिधिहरु ठेकेदार नै रहेको स्रोतले जनाएको छ ।

प्रदेशसभा सदस्य शंकर चौधरीले आफू अनुकूल बजेट चलाउनका लागि ठोरी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुश्वाहालाई जीराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएका छन् । राजनीतिको र पनि नजान्ने कलेजमा अध्ययन गरिरहेका युवालाई ल्याएर पालिका प्रमुख बनाएर स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबाएर आगामी जीवनको भविष्यलाई समेत अन्धाकारतर्फ धकेलिएको छ ।

यतिसम्मकी पालिका प्रमुख अनुजले आफन्तको नाममा सवारी साधन किनेर सञ्चालन गरिरहेको स्रोतले जनाएको छ । उनले खरिद गरेको सवारी साधन श्रीमतीको आफन्ताको नाममा राखेर चलाईरहेको बताईएको छ । यसविषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको र अख्तियारले छानविन गरिरहेको जनाएको छ । उकत गाडी प्रदेससभा सदस्य शंकर चौधरीले चढने गरेको स्थानीयको भनाई छ ।

पालिका अध्यक्ष चौधरी कार्यालयमा समेत बस्ने गरेका छैनन् । स्थानीयका अनुसार उनी अधिकांश काठमाडौंमै बस्ने गरेका छन् । काठमाडौं आउने जाने गर्दा सेवाग्राहीहरुको काम पनि प्रभावित हुने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिकाको काम, कर्तव्य र अधिकारमा अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले कार्य सम्पादन गर्ने व्यावस्था गरिएको छ । तर, अधिकांश समय आफू काठमाडौंमा बस्दा पनि अनुजले उनी अनुपस्थित हुने समयमा कार्यबाहक जिम्मेवारी समेत दिने गरेका छैनन् ।

गाउँपालिकाका अध्यक्ष अनुज चौधरीले भने जनप्रतिनिधि विच तालमेल नमिल्दा गाउँ सभा समयमै हुन नसकेको बताए । गाउँ सभा तयारीको लागि अहिले बैठकहरु भइरहेको अध्यक्ष चौधरीको भनाई छ । गाउँपालिकामा कार्यरत महिला स्वंयमसेवीकाहरुले समेत २ बर्ष देखि तलव पाएका छैनन् । गाउँ सभा नभएको कारण तलव खुवाउन नसकिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले बताए ।


सम्बन्धित समाचार