Logo

१० असोज, सेढवा (पर्सा)। दुईजना बालकलाई ललाई फकाई लैजान खोजेको आरोपमा जिराभवानी गाउँपालिका वडा नं. ३ जितपुरका बासिन्दाले एकजनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

पक्राउ पर्नेमा सोही गाउँका २५ बर्षीय युवक प्रभानन्द राउत थारु रहेका छन्। उनलाई गएराती करिब ८ः०० बजे सोही वडाको परसवाबाट स्थानीयले पक्राउ गरेका स्थानीय शम्भु साहले बताए। बुधबार दिउँसो करिब १२ः०० देखि जितपुरका शम्भु साहका ८ बर्षीय छोरा बिरजु प्रसाद साह र धर्मवीर कुवँरका ७ बर्षीय छोरा काले भन्ने राजवीर कुवर हराई रहेका थिए।

राती अबेरसम्म ती बालकहरु घर नफर्किदा अभिभावकहरु गाउँ गाउँ खोजी थालेका शम्भु साहले बताए। खोजीको क्रममा अभिभावकहरुले अन्य गाउँका इष्टमित्र तथा प्रहरीलाई समेत फोन गरी जानकारी गराएका थिए। सोही क्रममा परसवाका स्थानीय बासिन्दाहरुले प्रभानन्द राउत थारु र ती दुई बालकलाई पक्राउ गरी तीनका अभिभावकहरुलाई बुझाएका थिए।

फेला परेका ती बालकहरुलाई थारुले दिउसैदेखि चकलेट तथा फ्रुटी जुस खुवाएर ललाई फकाई परसवा मेमोरी कार्ड किन्न लैजाने भनेर लगेको बालकहरुले बताए। एकजना जान नमानेपछि लठ्ठीले समेत पिटेर डर देखाएपछि जान मानेका बालकहरुले बताए। परसवा पुगेर नास्ता खुवाएपछि पिडारी हुदै नेपाल भारतको सीमामा पर्ने दशौता साइकलमा लगेको बालकहरुले बताए।

तर, सीमामा खटेका दुई देशका सुरक्षाकर्मीका कारण पुनः फर्काएर परसवा बजारमा ल्याएर खाजा खुवाएको र उ आफूले रक्सी खाएको बालकहरुले बताए। राती प्रभानन्द राउत थारु मदिराको नशामा हुँदा घटनाको बारेमा जानकारी लिन नसकिएका प्रहरीले जनाएको छ। थारुलाई हाल इलाका प्रहरी कार्यालय सेंढवामा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार