Logo

१० असोज,धनुषा । मधेस प्रदेश प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूले वृत्ति विकासमा समान अवसर प्रदान गर्न माग गरेका छन् ।प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव सुवास चन्द्र शिवाकोटीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार लेखा समूहमा समायोजन भई कार्य गर्दै आएका कर्मचारीहरू भन्दा पछाडि नियुक्ति भएका सामान्य प्रशासन समूह र अन्य सेवा समूहका कर्मचारीहरू नवौँ तहमा बढुवा भई सकेका छन् । तर, लेखा समूहका कर्मचारीहरू ज्येष्ठ भए पनि कनिष्ठ कर्मचारीहरूले वृत्ति विकासको अवसर पाउँदा लेखा समूहको वृत्ति विकास अन्योलमा रहेको भन्दै यसले आफूहरूको मनोबल गिराएको उनीहरूले बताए ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम मधेस प्रदेश प्रशासन सेवा, लेखा समूहमा समायोजन भई उनीहरूले निरन्तर कार्य गर्दै आई रहेका छन् । मधेस प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन, राजश्व र लेखा गरी तीन समूह रहेका छन् । नियमावली, २०५९ बमोजिम प्रशासन सेवा लेखा समूहका कर्मचारीहरूलाई सहायकस्तर चौथो, सहायकस्तर पाँचौँ, अधिकृतस्तर छैठौँ, सातौँ, आठौँ र नवौँ गरी ६ वटा तहमा विभाजन गरिएको छ ।

लेखा समूहका कर्मचारीका लागि अधिकृतस्तर नवौँ तहमा एक मात्र दरबन्दी प्रदेश लेखा नियन्त्रक कार्यालयमा रहेको छ । उक्त पदमा प्रदेश लोक सेवा आयोगबाट हालसम्म पदपूर्ति भएको छैन । कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा (४) मा प्रशासन सेवा नवौँ तह र सो भन्दा माथिल्लो तहमा कुनै पनि समूह तथा उपसमूह नरहेकोले मधेस प्रदेशमा पनि सोही बमोजिम व्यवस्था गर्न उनीहरूको माग छ । उक्त मागलाई बेवास्ता गरिएमा अन्य दबाबमूलक कार्यक्रमहरू चरणबद्ध रूपमा गर्दै जाने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

ज्ञापन पत्र नेपाल निजामती कर्मचारी युनियन, मधेस प्रदेश, नेपाल निजामती कर्मचारी संगठन, मधेस प्रदेश, मधेसी निजामती कर्मचारी मञ्च, मधेस प्रदेश र राष्ट्रिय कर्मचारी संगठन, मधेस प्रदेशलाई बोधार्थ गरिएको छ ।

 


सम्बन्धित समाचार