Logo

१० असोज,काठमाडौं । युक्रेनले रुसविरुद्धको युद्धमा भारतीय हतियार प्रयोग गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले यी हतियार युरोपेली देशहरूलाई बेचेको थियो तर अहिले युक्रेनले प्रयोग गरिरहेको छ।

रिपोर्टमामा रुसको विरोधका बाबजुद भारतले यी हतियार युक्रेन पुग्ने क्रम रोक्ने प्रयास नगरेको दाबी गरिएको छ । ३ भारतीय अधिकारीलाई उद्धृत गर्दै रुसले २ पटक भारतलाई यसबारे गुनासो गरेको बताइएको छ ।

भारतीय हतियार इटाली र चेक गणतन्त्र हुँदै युक्रेन पुग्दैछ । यी दुवै देशले भारतबाट ठूलो परिमाणमा हतियार किन्छन्। पछिल्लो एक वर्षमा यी दुवै देशले युक्रेनमा भारतीय हतियार पठाएका छन् ।

रिपोर्टका अनुसार जुलाईमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । यसमा यो मुद्दा उठाइएको थियो ।

समाचार एजेन्सीका अनुसार रुस र भारतको रक्षा मन्त्रालयले यससँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएनन् । तर, जनवरीमा परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा भारतले युक्रेनलाई हतियार पठाएको वा बेचेको छैन भनेका थिए ।

दुई भारतीय सरकारी स्रोत र दुई रक्षा मन्त्रालय स्रोतले रोयटर्सलाई भनेअनुसार युक्रेनले प्रयोग गरिरहेको गोला बारुद भारतले एकदमै कम मात्रामा उत्पादन गरेको थियो। एक अधिकारीले अनुमान गरेअनुसार यो युद्ध सुरु भएदेखि किभले खरिद गरेको गोला बारूदको १ प्रतिशत पनि होइन।

युरोपेली देशहरूले युक्रेनलाई भारतीय गोलाबारुद सित्तैमा सहायताका रूपमा दिएका छन् वा बेचेका छन् भन्ने अहिलेसम्म थाहा छैन। यी हतियार भारतको सरकारी कम्पनीले बनाएको बताइएको छ । यस कम्पनीको मुख्यालय नागपुरमा छ। यो कम्पनी अक्टोबर २०२१ मा गठन भएको थियो।

भारतले हतियार निर्यातका लागि नियम बनाएको छ । नियम अनुसार भारतबाट हतियार खरिद गर्ने देशले आफूले मात्रै प्रयोग गर्न सक्नेछन् । यदि हतियार अर्को देशमा पठाइन्छ भने कम्पनीले हतियारको डेलिभरी रोक्न सक्छ।

किंग्स कलेज लन्डनका दक्षिण एसिया सुरक्षा विज्ञ वाल्टर लाडविगले युक्रेनमा थोरै मात्रामा भारतीय गोलाबारुद पठाउनु भारतका लागि फाइदाजनक रहेको बताए । यसले भारतलाई रुस–युक्रेन युद्धमा रुसको साथमा नभएको र भारतको निर्णयमा रुसको कुनै प्रभाव छैन भनी पश्चिमी देशहरूलाई देखाउने मौका दिनेछ ।


सम्बन्धित समाचार