Logo

११ असोज,वीरगञ्ज । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । झरीका कारण वीरगञ्जको जनजीवन समेत प्रभावित भएको छ ।

वर्षाका कारण वीरगञ्जकै आदर्श नगर श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, पानीट्याङ्की, भिस्वा , प्रगतिनगर लगायतका स्थानमा पानी जमेको छ। वर्षाको पानीको उपयुक्त निकासको प्रबन्ध नहुदा वीरगञ्ज वर्षेनी डुबानमा पर्ने गरेको छ ।

विभागका अनुसार सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा र पर्वत केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।

यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने विभागको भनाई छ ।

 


सम्बन्धित समाचार