Logo

१२ असोज, ठोरी (पर्सा) । विहीबार साँझ देखि लगातारको अबिरल वर्षाका कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण ठोरीका सबै खहरे खोलामा बाढी आएको छ भने कतिपय घरमा पानी पसेर डुबान भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएपनि ठोरीका अधिकांश ठाउँहरु जलमग्न भएका छन् ।

वडा ४ को मालिवस्तीमा ओरिया खोलाको बाढि पसेर डुबान भएको स्थानीय युवा किरण पाण्डेले जानकारी दिए । गाउँभन्दा पश्चिमपट्टीबाट पसेको बाढिका कारण काठको घर डुबान परेको र अझै पानी पर्न नरोकिएकोले स्थानीयबासीमा त्रास बढेको पाण्डेले बताए ।

यस्तै वर्षाका कारण ठोरी – ५ मा हुलाकी सडकबाट सानोबाघमोर्चा हुँदै बाघमोर्चा मन्दिर जाने कल्भर्टको एप्रोच सडकमा क्षति पुगेको छ भने ठुलोबाघमोर्चामा रहेको एक काठे घरमा पानी पसेर क्षति पुगेको वडाध्यक्ष अष्ट बहादुर लोप्चनले बताए ।

यस्तै ठोरी –४ को विशालचोक, मिलचोक, पिपलडाँडा, एनसेल चोक लगायतका ठाउँ वर्षाका कारण जलमग्न भएका छन् ।

यता भित्र्याउन ठिक्क पारेको धानबाली वर्षाले ढालेपछि किसानहरु भने चिन्तित देखिएका छन् । वर्षाले धानबाली नै ढालेपछि धान खेतमा नै उम्रने चिन्ता बढेको ठोरी –४ का किसान कान्छा तामाङ्ले दुखेसो पोखे ।

वर्षामा वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड सुचारु रहेपनि नारायगढ–ठोरी सडक खण्डमा भने सवारी आवागमन ठप्प भएको छ । सो रुटमा पर्ने खोलाहरुमा बाढी आएको कारण आज कुनै पनि सवारी साधन ओहोरदोहोर गर्न सकेका छैनन् । सडक सम्पर्क विच्छेद भएका कारण ठोरी भएर नारायणगढ जाने यात्रुहरुलाई समस्या भएको छ ।

यता अविरल वर्षाको कारण अधिकांश पालिकाबासीको जनजीवन प्रभावित हुन थालेको भन्दै ठोरी गाउँपालिका कार्यालयले सुरक्षित रहन ठोरीबासीसँग सामाजिक सन्जाल फेसबुक मार्फत आग्रह गरेको छ । अध्यक्ष, उपाध्यक्ष लगायत वडाध्यक्षहरुको मोबाइल नम्बर राख्दै असहज अवस्थामा तत्काल फोन गर्न आग्रह गरेको छ ।

वर्षाको पुर्वानुमान गर्न नसकिएकोले विपद्पुर्वको तयारी खासै गर्न नसकेपनि उद्धार र राहतमा पालिका तयार रहेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी दिए । विपद्पछिको राहत वितरणका लागि स्थानीय खाद्यान्न पसलहरुमा सामान मौज्दात राख्न आग्रह गरिएको उनले बताए ।


सम्बन्धित समाचार