Logo

१२ असोज,वीरगञ्ज । अस्ती विहीबार साँझदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत देशभरकै जनजीवन प्रभावित बनेको छ ।

अबिरल बर्षाले दैनिक ज्यालादारी गरी खानेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्ला विपत व्यावस्थापन समितिले दिएको विवरण अनुसार निरन्तर वर्षाका कारण पर्साको विभिन्न स्थानमा पानी जमेर जलमग्न हुनुका साथै घरहरुमा पनि क्षति पुगेको छ ।

सडकहरु अवरुद्ध भएका छन् । विपद व्यावस्थापन समितिले दिएको जानकारी अनुसार पर्साको पकहामैनपुर गाउँपालिका ४ खेस्राहा बस्ने बिहारी राउतको खपडाले बनेको कच्ची घर पूर्ण रुपले भत्किएको । आश्रित परिवार ६ जनाको तत्कालका लागि ब्यवस्थापन गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर–९ स्थित तिलावेखोलामा पानी को सतह बढेको कारण एकटांगाबाट मनवातर्फ आउने बाटो बन्द रहेको छ ।
जिराभवानी गाउपालिका १ को ओरिया खोलामा पानीको सतह बढेको कारण महादेबपट्टीबाट सेढवा तर्फ आउने बाटो बन्द रहेको पर्साका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यावस्थापन समिति पर्साका संयोजक दिनेश सागर भुषाले जानकारी दिनुभयो ।

त्यस्तै पर्सा पटेर्वासुगौली गाउपालिका वडा नम्बर ४ मा रहेको भलुहीखोलामा पानीको सतह बढेकोले पटेर्वासुगौलीबाट शंकरसरैयातर्फ जाने बाटो बन्द रहेको छ । पटेर्वासुगौली गाउँपालिका–२ भलुही खोलामा पानीको सतह बढ्न गई रंगपुरबाट मनवातर्फ आउने बाटो बन्द रहेको छ ।

त्यसैगरी बिरगंज महानगर पालिका वडा नम्बर ३० सर्बोतम स्टिल फ्याक्ट्रीदेखि लालपर्सा जाने भित्री बाटोमा अबिरल बर्षातको कारण पानी जमेर बाटो अवरोध भएको छ । त्यसैगरी पकहामैनपुर गाउपालिका वडा नम्बर २ मानिपुरमा अबिरल बर्षाका कारण नालाहरु जाम भई अन्दाजी २० ओटा घर धुरिमा एकफिट पानी पसेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित वडा प्रहरी कार्यालय श्रीपुर पर्साको कार्यालय भवनको पछाडीको कम्पाउण्डको पर्खाल ५० मिटर भत्किएर पूर्ण रुपमा क्षति भएको छ ।
वीरगन्ज वडा नम्बर १९ तिलावेपुल नजिक बिन्दवासनीबाट बिरगंजतर्फ जाने पुलको २० मिटर वारि दाहिने तर्फको बाटो चर्किेएको तर बाटो भने अवरोध नभएको जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ कृषि औजार अनुसन्धान केन्द्र कार्यालय पछाडी दलित टोलमा सरिसवा खोलाको पानीले सातआठ घर धुरिमा पानी पसेर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । त्यस्तै कृषि सामाग्री संस्थानको भवनमा पानी पसेर रासायनिक मल भिजेको छ ।

बिरगंज नर्सिङ कलेज, सशस्त्र गण तथा आर्मी ब्यारेक जलमग्न अवस्थामा रहेको छ । वीरगन्ज आसपास क्षेत्र जलमग्न रहेको र भेडाहा खोलाको पानी बस्ती तर्फ पसेको छ ।
क्षतीको यकिन हुन बाकी रहेको जिल्ला विपद व्यावस्थापन समितिका संयोजक भुसालले बताउनुभयो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधि सङ्ग समेत सम्न्वय गरि बिपद प्रतिकार्यको काम निरन्तर भैरहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच वीरगञ्ज स्थित सिर्सिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ । रानीघाट, आदर्शनगर क्षेत्र अहिले जलमग्न भएको छ ।
यस्तै वीरगञ्जको चिनीमिल आवासक्षेत्र, श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।

सिर्सिया नदीको पानी बस्तीमा पसेपछि वीरगन्जको रानीघाट क्षेत्रमा २७ घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो । बर्षा नरोकिएपछि दैनिकीमा प्रभाव परेको स्थानियवासिको भनाई छ ।

सिर्सिया नदिले जल सतह पार गरेपछि सतर्कता अपनाउन स्थानीय सरकारले आग्रह गरेको छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले आज विहान आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस पोष्ट गदै सिर्सिया नदिको पानी बजारमा समेत पसेको आमनागरिकलाई जानकारी गराउनु भएको छ ।

उहाँले वीरगञ्ज र आसपासको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भुभागमा खोलाको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार