Logo

१२ असोज,वीरगञ्ज । पर्साको ग्रामीण भेगलाई जोड्ने तिलावे पुल सञ्चालनमा आएको २ वर्ष नपुग्देै भाँसिएको छ ।

सात वर्ष लगाएर बनेको तिलावे पुल २ वर्षमै ‘एप्रोच रोड’ भाँसिएपछि सर्वसाधारण चिन्तित बनेका छन् । विहीबार साँझदेखिको निरन्तर वर्षाले नदिमा बढेको पानीको सतहले कटान गर्दा पुलको ‘एप्रोच सडक’ भाँसिएको हो । तर २ वर्षमै नयाँ पुलको दुबैतिर भाँसिएपछि फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ता पर्साबासीमा छाएको छ । सातबर्षमा पनि पुल गुणस्तरी नबनाउँदा पुलको ‘एप्रोच सडक’ भाँसिएको छ ।

नेपालमै बदनाम ठेकेदार पप्पु कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो । तर, समयमा पुल निर्माण गर्न नसकेपछि पप्पु कन्स्ट्रक्सनलाई दिएको ठेक्का खोसेर अर्को ठेकेदार कम्पनी लुम्बिनीलाई दिने क्रममा फेरी पप्पु साझेदार बनेर भित्रिएको थियो ।लुम्बिनी पप्पु जेभी कम्पनीले सुस्त गतिमा निर्माण गरेको पुल २०७९ सालको आम निर्वाचन अघि हतारमा उदघाटन गरिएको थियो ।

पप्पु कन्स्ट्रक्सनका संस्थापक सञ्चालक हरिनारायण रौनियारकी छोरी मधु गुप्तालाई प्रदेशसभाको उम्मेदवार बनाएपछि भोट पाउनका लागि हतार हतारमा तिलावे पुलको उदघाटन गरिएको थियो । तत्कालिन संघीय समाजवादी फोरमबाट पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेर निर्वाचन लड्न नपाउने भएपछि छोरी मधुलाई जनता समाजवादी पार्टीबाट निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएका थिए ।

आफ्नो छोरीलाई जिताउनका लागि भोट पाउने आशाले पप्पु कन्स्ट्रक्सनका संस्थापक सञ्चालक हरिनारायण रौनियारले हतार हतारमा पुल निर्माण गरेर सम्पन्न नहुँदै तत्कालिन सहरी विकास मन्त्री महम्मद इस्तियाक राई र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई ल्याएर पुल उदघाटन गरेका थिए ।

पुल उदघाटनका दिन पनि स्थानीय युवाहरुले विरोध जनाएका थिए । तर, व्यापक सुरक्षाकर्मीको उपस्थितिमा पुलको उदघाटन गरिएको थियो ।


सम्बन्धित समाचार