Logo

१३ असोज, वीरगञ्ज । आज वीरगञ्जको मौसममा सुधार देखिएको छ । विहीबार साँझदेखि लगातारको वर्षा पछि आज विहान घाम उदाउँदा स्थानियहरु खुसी देखिएका छन् ।

लगातारको वर्षाका कारण प्रभावित बनेका वीरगञ्जवासी आज विहान देखि घाम उदाएको देखेर हर्षित भएका छन् । लगातारको वर्षाका कारण पर्साका सबै नदीको जलसतह पार गर्दै घरवस्तीमा समेत पानी पसेको छ ।

विद्यालय बन्द गरिएका छन् । आज विहान घाम देखिएर वीरगञ्जवासी सरसफाईमा जुटेका छन् । ३ दिनको लगातार परेको पानीले घरमा समेत पानी पसेको हुँदा आज विहानै घाम उदाएको देखेर वीरगञ्ज १५ की रजनी यादव सफाईमा जुटेकी छिन् ।

यता मौसम पूर्वानुमान महाशाखाले पनि आज (आइतबार) देखि मौसम सुधार हुने सम्भावना देखिएको जनाएको छ । बिहान ८ः२४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो । तर केही ठाउँमा भने वर्षा जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ । तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।


सम्बन्धित समाचार