Logo

१३ असोज,काठमाडौं । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।

बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरू शुक्रवारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आइतवार प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

शनिवार बिहानदेखि उनीहरूको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसमका कारण शनिवार उनीहरूको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए ।

कार्कीले भने, ‘शुक्रवारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उनीहरू निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र परेका थिए ।’ आइतवार कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।


सम्बन्धित समाचार