Logo

१३ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा प्रदायक कम्पनीहरूलाई विपद्को समयमा यात्रुहरूसँग सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन्।

आइतबार ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै लगातारको वर्षा र बाढी पहिरोले मुलुकभरि सडक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुहरूसँग सहुलियत दरमा भाडा लिन आग्रह गरेका हुन् । अत्यावश्यक यात्रामा देखिएको अप्ठेरोप्रति ध्यानाकर्षण गर्दै उनले हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सुनिएको बताएका छन्।

उनका अनुसार, यो विपद्को अवस्थामा एयरलाइन्सहरूले यात्रुहरूसँग पहिलेको दरमा भाडा लिएर सहकार्य गर्नु उचित हुनेछ। प्रधानमन्त्रीले हवाई सेवा प्रदायकहरूलाई यस विषम परिस्थितिमा यात्रुहरूको असुविधा बुझ्दै भाडामा सहुलियत दिन अनुरोध गरेका छन्। सन्देशमा उनले जनताको सुरक्षालाई प्राथमिकता दिन हवाई सेवाको प्रभावकारी परिचालन र विपद् व्यवस्थापनमा समन्वयात्मक प्रयासको खाँचो रहेको उल्लेख गरेका छन्।

यस्तै नेपाल सरकार पर्यटन मन्त्रालयले हवाई यात्रुहरूको सुविधाका लागि विशेष निर्णय गरेको र उद्धार उडानको लागि आवश्यक तयारी गरिएको जनाएको छ । प्रधानमन्त्री ओलीले यस प्राकृतिक विपत्तिलाई सबैले मिलेर सामना गर्नु पर्नेमा जोड दिँदै सरकारको तर्फबाट उद्धार र राहतका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।

देशको विभिन्न भागमा बाढी पहिरोको कारण जनजीवन प्रभावित भइरहेको समयमा प्रधानमन्त्रीको यो सन्देशले हवाई सेवा प्रदायक कम्पनीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार