Logo

१४ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरेको छ ।

बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले बताए ।
उनका अनुसार बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।

अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो । हाल यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको छ ।

त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा अहिले घाम लागिरहेको छ । आज ९सोमबार० दिउँसोसम्म घाम लागे पनि अपराह्नपछि भने आंशिक बादल लाग्ने सम्भावना छ ।

मंगलबार अपराह्नदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।


सम्बन्धित समाचार