Logo

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना मंगलबार पत्रकार समेलन मार्फत सार्वजानिक गरेको हो ।

जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक महेन्द्र खड्काले जिल्लाभर १ हजार १५ प्रहरी परिचालन गरिने तथा डिउटी डबल गर्नुको साथै एसपी र डिएसपीको नेतृत्वमा १४ जना प्रहरी अधिकृत ठाउँ ठाउँमा अनुगमनको लागी परिचालित हुने योजना बनेको बताए ।

उनका अनुसार विषेश चुनौतीको रुपमा रहेको सिमावर्ती लगायतका ५३ स्थानलाई पहिचान गरी त्यस स्थानमा २ सय ९० प्रहरी परिचालित गरिने छ ।

त्यसैगरी १० वटा मोबाईल गस्ती टोलीमा ८२ प्रहरी, हईवेमा गस्ती गर्नको लागी १० जना प्रहरी, चाडपर्व र मेलाको समयमा सार्वजनिक गाडीमा हुने लुटपाट नियन्त्रण गर्नको लागी चुरेदेखी निजगढ र रौतहटको सिमासम्म चल्ने रात्रि बसमा हतियारसहित १४ जना प्रहरीको टोली परिचालित हुने प्रहरी उपरिक्षक खड्काले बताए ।

त्यस्तै मोटरसाईकल गस्तिमा ५० वटा मोटरसाइकल सहित २ सय ८ प्रहरी, पैदल गस्तीमा ३३ प्रहरी, तुरुन्तै उद्धारमा खट्न ३० प्रहरी र सुचना संकलनको लागी ७ टोलीमा १६ जना प्रहरी परिचालित हुनछन् । योजना अनुसार ९ वटा यात्रु सहायता कक्षमा २२ प्रहरी, डिटेल्स चेकजाँच गर्नको लागी ८ देखि १० टोलीमा ९१ प्रहरी परिचालित हुनेछन् ।

घटना घटे लगतै उद्धारका लागी ५ वटा टोलीमा १७ प्रहरी खटिनेछन् । सवारी दुर्घटना रोक्नको लागी ठाउँ ठाउँमा स्पीड कन्ट्रोलका निमित्त प्रहरी परिचालन गर्ने योजना रहेको प्रहरी उपरिक्षक खड्काले जानकारी गराए ।

बारा प्रहरीले चाडपर्वको मौका छोपी राजमार्गमा हुने लुटपाट, सिमावर्ती ईलाकामा हुने अवैध कारोबार, वित्तीय संस्थाको चोरी, मेलामा हुने हुलदंगा, कालोबजारी, सवारी दुर्घटना लगायतको सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्नको लागी अग्रिम तयारीका साथ सुरक्षा योजना सार्बजनिक गरेको हो ।


सम्बन्धित समाचार