Logo

१६ असाेज, वीरगञ्ज । वीरगञ्जको छपकैया स्थित रेल्वेलाइनमा रहेको भगवती राइस मिलको विवादीत ३२ कठ्ठा जग्गा नेपाल सरकारको नाउँमा भएको मलपोत कार्यालय पर्साले निर्णय गरेको छ ।

२०२१ सालदेखि केडिया परिवारले भोग चलान गर्दै आएको उक्त जग्गामा २०६४ साल देखि जगदीश साह कानू लगायत विभिन्न व्यक्तिले किचलो गर्दै आएका थिए । उक्त जग्गाको विषयमा आज (बुधवार) मालपोत कार्यालय पर्सामा सरोकार वालाहरुका कानून व्यवसायीले गरेको बहश पछि मालपोत कार्यालयले नेपाल सरकारको नाममा उक्त जग्गा कायम रहने फैसला गरेको हो ।

मालपोत र नापी कार्यालयमा रहेका डकुमेन्ट र तथ्यहरुले उक्त जग्गा वीरगञ्ज निवासी ताराचन्द्र केडियाको नाउँमा रहेको देखिएतापनि मालपोत कार्यालयले भने नेपाल सरकारको नाउँमा हुने भनेर निर्णय गरिदिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०६८ जेठ ४ गतेको निर्णय अनुसार ताराचन्द्र केडियाको नाउँमा मालपोत कार्यालय पर्सामा दार्ता रहेको कित्ता नम्वर ११७ र ९७ नम्वरको जग्गा व्यक्तिको नाम खारेज गरी नेपाल सरकारको नाउँमा लालपूर्जा बनाएर जिल्ला प्रशासन कार्यालय पर्सामा दिनु भनेर आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय र सोही निर्णयको आधारमा भूमिसुधार विभागको निर्देशनमा केडियाको जग्गा नेपाल सरकारको नाउँमा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतका न्यायधीस इश्वर खतिवडा र हरि प्रसाद फुयालको २०७९ साउन २६ गते बसेको सयुक्त बेन्चले अख्तियार अनुसन्धान आयोगको ठाडो निर्देशनमा मालपोत कार्यालय पर्साले व्यक्तिको नाउँमा रहेको जग्गा नेपाल सरकारको नाउँमा कायम गर्ने निर्णय बदर गरिदिएको थियो । सर्वोच्चले जग्गाको हकदावी र कागजपत्र बुझि फैसला गर्ने अधिकार मालपोत कार्यालय पर्सालाई दिएको थियो ।

सर्वोच्च अदालतले उक्त जग्गाको सन्दर्भमा मालपोत कार्यालय पर्साले विवादीत जग्गाको विषयमा सरोकारवाला पक्षलाई सुनुवाईको उचित मौका नदिएको, अख्तियारको निर्णयलाई कानूनी प्रकृया पुरा नगरी मालपोत कार्यालयले ठाडो आदेश पालना मात्र गरेको, जग्गा सम्वन्धि निर्णय गर्ने अधिकार प्राप्त निकाय मालपोत कार्यालयले सदविवेक प्रयोग गरी प्रमाणको आधारमा निर्णय लिनु पर्नेमा कानून बमोजिम काम गरेको नदेखिएकोले उत्प्रेषणको आदेशले केडियाको नाउँको जग्गा नेपाल सरकारको नाउँमा गर्ने निर्णयलाई बदर गरेको थियो ।

सर्वोच्च अदालतको निर्णयलाई आधार बनाएर मालपोत कार्यालय पर्साले कित्ता नं. ११७ र ९७ दावी गर्ने व्यक्तिहरुलाई प्रमाणसहित हकदावी गर्न पत्राचार गरेको थियो । उक्त जग्गाको मुद्दा पटक पटक तारेख तोकेर आज फैसला भएको हो ।

साविक छपकैया गाविस “वी” वडा नंं ९ हाल वीरगञ्ज महानगरपलिका वडा नं. २ मा रहेको नारायणी अस्पतालसँगै जोडिएको पूर्व पट्टीको केडिया र टिवडेवाल परिवारले भगवती राईसमिल संचालन गरेको ३२ कठ्ठा जग्गामा सरोकार नदेखिएका ७ जना व्यक्तिले आफ्नो भएको दावी सहित मालपोत, नापी हुदै सर्वोच्च अदालत सम्म पुगेका थिए ।

केडिया र टिवडेवाल परिवारले बर्षौ देखि हकभोग गरेको उक्त जग्गा बृजलाल केडिया र परमानन्द टिवडेवालको नाउँमा दर्ता रही उनैको नाममा हकभोग रहेको छ । बृजलाल केडियाको निधन भएपछि उनको नाउँमा रहेको जग्गा छोरा ताराचन्द्र केडियाको नाउँमा नामसारी भएदेखि विवाद खडा गरिएको देखिन्छ । एउटै कित्ता नम्वरमा भएको जग्गामा ५ जनाको हकभोगका सन्दर्भमा विभिन्न निकायले गरेको पत्राचारले विवादीत बनाईदिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित रेल्वे लाइनसँग जोडिएको कित्ता नम्वर ९७ र ११७ नम्वरको जग्गामा वीरगञ्ज निवासी मुकुल विक्रम शाह, प्रितम सिंह ठकुरी, हरिनायण गुप्ता, जगदिश नारायण साह कानू र शारदा साहले दावी गर्दै आएका छन् । विभिन्न व्यक्तिहरुले आफ्नो नाउँमा दावी गरेपनि वीरगञ्ज महानगरपालिकाले उक्त जग्गा नेपाल सरकारको भएको दावी गर्दै आएको छ ।

उक्त जग्गामा २०६५ साल पछि मात्र विभिन्न व्यक्तिले किचलो खडा गरेको देखिन्छ । उक्त जग्गाका धनी बृजलाल केडियाको २०५५ साल चैत २५ गते निधन भएपछि स्वर्गीय केडियाका हकभोग खाने छोरा बुहारीको सहमतीमा २०६२ साउन १५ मा बृजलाल केडियाका छोरा ताराचन्द्र केडियाको नाउँमा नामसारी भएको मालपोत र नापी कार्यालयको रेकर्डमा उल्लेख छ । ताराचन्द्र केडियाले उक्त जग्गा २०६३ सालमा हाल साविक गरी नयाँ पुर्जा समेत लिएका थिए ।

कित्ता नम्वर ११७ र ९७ को विवाद के हो ?

मालपोत र नापी कार्यालयको रेकर्ड अनुसार वीरगञ्ज निवासी बृजलाल केडियोको नाउँमा २०२१ सालमा कायम रहेकोसाविक छपकैया गाविस वडा नं. ९ को कित्ता नम्वर १२ को ९ कठ्ठा, कित्ता नम्वर १३ को ५ कठ्ठा, कित्ता नम्वर १४ को १९ कठ्ठा १५ धुर र कित्ता नम्वर १५ को ३ कठ्ठा १८ धुर समेतका जग्गाहरु २०२२ र २०२३ सालको सर्वे नापीमा नाप नक्सा भई २०२४ सालमा जग्गाधनी प्रमाणपुर्जा केडियाको नाममा बनेको देखिन्छ ।

उक्त जग्गा मध्ये कित्ता नम्वर १५ को जग्गामा मोही कोरसी जोल्हिनीले २०४५ सालको बाली बुझेर मोही छोडपत्र गरी भूमिसुधार कार्यालय पर्साको २०४५ साउन २४ गतेको निर्णयबाट मोही लागत कट्टा भएको देखिन्छ । त्यसैगरी कित्ता नम्वर १४ को मोही अलि हुसैन मियाँ हजामले मोही बुझी २०४५ भदौ १२ गतेको भूमिसुधार कार्यालय पर्साको निर्णयबाट मोही लागत कट्टा भएको भूमिसुधार कार्यालयको रेकर्डमा उल्लेख छ ।

जग्गाधनी बृजलाल केडियाले मोही कट्टा भएको जग्गा बेचविखनको लागि पर्सा जिल्ला अदालतको २०४६ असार २१ गते निर्णयले करण कुमार साहलाई बारेस बनाई विभिन्न व्यक्तिलाई हकहस्तान्त्रण गरेको देखिन्छ । २०५५ चैत २५ मा बृजलाल केडियाको निधन भएपछि उनको नाउँमा भएको जग्गा कुन छोराको नाममा हकहस्तान्त्रण गर्ने भन्ने बिषयमा केडिया परिवार विच सहमती हुन सकेको थिएन ।

२०६२ सालमा केडिया परिवारमा भएको सहमती पछि ताराचन्द्र केडियाको नाउँमा नामसारी गरिएको थियो । ताराचन्द्र केडिया र परमानन्द टिवडेवालको नाउँमा भएको उक्त जग्गा २०४६ सालको नयाँ नापी पछि विभिन्न व्यक्तिहरुलाई कित्ताकाट गरी वेचविखन गरिएको छ ।

कित्ता नम्वर १२ बाट कृष्णदेव कलवार १८ धुर, प्रमिला जयसवालले १५ धुर, प्रतिमा झाले २१ धुर र चन्द्र भुषणले १ कठ्ठा १० धुर खरिद गरेको देखिन्छ । उक्त कित्तामा बाँकी रहेको जग्गा परमानन्द टिवडेवालको नाममा कायम गरिएको छ । त्यसैगरी कित्ता नम्वर १३ बाट केडियाले सामाजिक संस्था रोटरी क्लवको नाउँमा १२ धुर जग्गा नामसारी गरेको नापी र मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ ।

साविकको कित्ता नम्वरहरु १२, १३, १४ र १५ बाट विभिन्न व्यक्तिलाई बेचविखन गरेर बचेको जग्गा कित्ता नम्बर ११७ र ९७ कायम भएको देखिन्छ । कित्ता नम्वर ११७ बाट ताराचन्द्र केडियाले ०.०२९५ वर्गमिटर जग्गा बाटो कट्टा गरेका छन् । १९९७ साल देखि २०६९ साल सम्म केडियाको हकभोगमा रहेको उक्त जग्गामा २०६५ साल देखि किचलो शुरु गरिएको छ ।

कसरी शुरुभयो भगवती राईस मिलको जग्गाको किचलो ?

वीरगञ्ज महानगरपालिका वडा नं. ८ गहवा बस्ने जगदिश नारायण साह कानूले साविक वीरगञ्ज गहवा (क) श्रेष्णी रैती नम्वर ५२ को हाल वीरगञ्ज वडा नं. २ छपकैयामा रहेको कित्ता नम्वर ११७ र ९७ को २८ कठ्ठा जग्गा आफ्नो बुवा जोखु साह कानूको नाउँमा रहेको भन्दै उक्त जग्गा आफ्नो नाउँमा नामसारी गरिदिन २०६५÷४÷१ गते र २०६५ कार्तिक २५ गते मालपोत कार्यालय पर्सामा निवेदन दिएका थिए ।

जवकी जगदीश नारायण साह कानूको बुवा जोखु साह कानूको २०१८ सालमा निधन भएको जगदीश साह कानूले स्वीकार गरेका छन् । २०१८ सालमा मृत्यु भएपछि उनकी श्रीमति नागमती देवीको नाममा २०२२ सालमा उनले दावी गरेको जग्गा किन पास गरिएन ? जवकी नागमती देवीको २०३३ सालमा मृत्यु भएको हो । २०१८ सालमा मृत्यु भएको मानिसको नाउँमा जग्गा थियो भनेर २०६५ सालमा आएर किचलो गरिदै छ ।

जगदीश नारायण साह कानूले तयार पारेको डकुमेन्ट नक्कली भएको सरोकार राख्ने सरकारी कार्यालयले प्रष्ट पारि सकेका छन् । ४७ बर्ष पछि जगदीश नारायण साह कानूले उक्त जग्गा आफ्नो भएको भन्दै नापी र मालपोत विभिन्न मितिमा निवेदन दिएका थिए ।

तत्कालीन अवस्थामा गहवा र छपकैया अलग अलग गाविस थिए । जगदीश नारायण साह कानूले माग दावी गरे जस्तो वीरगञ्ज गहवा (क) रैती नम्वर ५२ को जग्गा छपकैया (ख) को कित्ता नम्वर १२, १३, १४ र १५ सँग कुनै सम्वन्ध राख्दैन भन्ने नापी कार्यालय पर्साको पत्र छ । नापी कार्यालय पर्साका तत्कालीन प्रमुख छेदीलाल प्रसाद साहको नाउँमा तयार गरिएको पत्र समेत नक्कली भएको नापी कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार