Logo

१८ असोज,वीरगञ्ज । भारतीय नागरिकले नेपालमा नागरिकताको साम्राज्य नै चलाएको पाईएको छ । सदियौंदेखि बसोबास गर्दै आएका असली नेपाली नागरिकहरुलाई नागरिकता लिन प्रशासनिक झण्झट यति धेरै छ ।

त्यहि झण्झटले गर्दा अहिले पनि कयौं नेपालहरु अनागरिक हुनु परेको छ । तर, एकजना भारतीय नागरिकले भने नेपालमा नागरिकताको साम्राज्य नै चलाएको भेटिएको छ ।

अदापुर निवासी भारतीय नागरिक मोजाहिर मियाँले आफूले बारा जिल्लाबाट नेपाली नागरिकता लिएर छोराहरुलाई धनुषा र बाराबाट पनि दोहोरो नागरिकता लिएको भेटिएको छ । छोरी आयशा खातुनलाई भने पर्सा जिल्लाबाट नागरिकता दिलाएको भेटिएको छ । मोजाहिर हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ कलमनगरमा बस्दै आएका छन् । उनले बारा जिल्लाबाट लिएका छन् ।

भारतीय नागरिक मोजाहिरले जिल्ला प्रशासन कार्यालय बाराबाट अबास हुसैन बनेर २०६९ बैशाख २९ गते झुठा विवरण पेश गरी नागरिकता लिएका छन् । त्यसपछि २०८० जेठ २६ गते प्रतिलिपि समेत लिएको पाईएको छ ।
मोजाहिरले अबास हुसैनको नाममा लिएको नागरिकतामा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ उल्लेख गरिएको छ । प्रतिलिपि दिने कर्मचारी जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत अनिता कुमारी राजबलवट र जारी गर्ने प्रशासकीय अधिकृत विपिन कुमार यादवको नाम उल्लेख गरिएको छ ।

त्यस्तै अबासका छोरा अनुरुल्लाह मन्सुरीले धनुषाको अन्दुपट्टी वडा नम्बर २ को ठेगानाबाट २०६० जेठ २६ गते खटिएको टोलीबाट वंशजको नागरिकता लिएका छन् । उनको नागरिकतामा टोली प्रमुख राजेन्द्र प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

अर्का सनुल्लाह मन्सुरीले पनि धनुषाबाटै नागरिकता लिएका छन् । तर, उनको नागरिकतामा उल्लेख गरिएको ठेगाना भने बेग्लै छ । सनुल्लाहको नागरिकतामा लामागढा गुठी वडा नम्बर २ ठेगाना उल्लेख गरिएको छ । उनको पनि बंशजको नागरिकतामा प्रशासकीय अधिकृत विनोद दाहालको हस्ताक्षर छ । सनुल्लाहले २०६४ जेठ २८ गते नागरिकता लिएका हुन् ।

मोजाहिर कर्तुत हेर्दा उनले नेपाली नागरिकतामा साम्राज्य नै चलाएको जस्तो देखिएको छ । आफूले बाराबाट वंशजको नागरिकता लिए । छोराहरुलाई धनुषाको अलग अलग ठेगनाबाट नागरिकता दिलाउन सफल भए । उनी यतिमा मात्रै रोकिएनन् ।

छोरीलाई पर्सा जिल्लाबाट नाम परिवर्तन गरेर नागरिकता दिलाए । उनकी छोरी आयशा खातुनलाई मोजाहिरले नसरुद्दीन मियाँ बनेर नागरिकता दिलाएका छन् । छोरीले लिएको नागरिकतामा भने जारी मिति र गर्ने अधिकारीको नाम समेत उल्लेख गरिएको छैन ।

मोजाहिरको छोराहरु मध्य धनुषाको लामागढा गुठीको ठेगानाबाट नागरिकता लिएका सनुल्लाह मन्सुरीले गण्डकी प्रदेशको पोखराबाट सवारी चालक अनुमति पत्र पनि लिएका छन् । भारतीय नागरिक मोजाहिरका छोरा सनुल्लाह र अनुरुल्लाहले बारा जिल्लाबाट पनि अर्को नागरिकता लिएको खुलेको छ । स्रोतका अनुसार सनुल्लाहले रायन मन्सुरीले बाराबाट रायन मंसुरीको नामबाट नागरिकता लिएका छन् ।

उनले लिएको नागरिकता नम्बर ३३–०१–८१–०४२४५ रहेको छ । त्यस्तै अनुरुल्लाहले पनि नाम परिवर्तन गरेर नागरिकता लिएका छन् । उनले लिएको नागरिकताको नम्बर ०३३–०१–०८१–०४४४१ उल्लेख गरिएको छ । भारतीय नागरिक मोजाहिरले नेपाली नागरिकता लिएको विषयमा उजुरी परेपछि मोजाहिर र उनका एक छोरालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

अनरुल्लाह र रायन मन्सुरी नामबाट नागरिकता लिएका मोजाहिरका छोरा भने फरार रहेका छन् । बारा प्रहरीमा परेको उजुरीको आधारमा उनीहरुलाई चितवनबाट पक्राउ गरेको पुष्टि गरेको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले नागरिकता मुद्दामा दुईजनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको बताए ।

नेपाली नागरिकलाई नागरिकता लिन महिनौ दौडधुप गर्नुपर्ने हुन्छ । तर, भारतीय नागरिकहरुले नेपाली नागरिकता यति सहज रुपमा कसरी पायो ? त्यसमा पनि अलग अलग ठेगानाबाट एउटै परिवारका व्यक्तिहरुले कसरी नागरिकता लिए ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।


सम्बन्धित समाचार