Logo

लेखक : सन्तोष श्रेष्ठ, ठोरी गाउँपालिका वडा नं.–४ बिजयबस्ती, पर्सा ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा, आज अक्टोबर ५ का दिन संसारभर विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्ष ३०औं विश्व शिक्षक दिवस “शिक्षकहरूको आवाजको सम्मानस् शिक्षाका लागि नयाँ सामाजिक सम्झौताका दिशामा” भन्ने मूल नाराका साथ मनाइँदैछ । यस अवसरमा मानव जातिलाई उज्यालो मार्ग देखाउने र ज्ञानको ज्योति फैलाउने आदरणीय गुरु वर्गप्रति कोटी–कोटी नमन गर्दै, हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सन् १९६६ अक्टोबर ५ मा फ्रान्सको राजधानी पेरिसमा शिक्षकहरूको सेवा र सुविधासम्बन्धी महत्वपूर्ण विषयमा आईएलओ र युनेस्कोले ऐतिहासिक सिफारिस गरेका थिए । त्यस दिनको स्मरणमा सन् १९९४ देखि युनेस्कोको आह्वानमा विश्व शिक्षक दिवस मनाउन थालिएको हो ।

संसारभरका शिक्षकहरूको हक, अधिकार, र मुक्तिको इतिहाससँग जोडिएको यो दिन साँच्चै पवित्र र ऐतिहासिक महत्त्वको छ। शिक्षकलाई सम्मान दिन र शिक्षण पेशालाई मर्यादित बनाउने उद्देश्यले, आज विश्वभरका शिक्षकहरूले यसलाई एक महान् पर्वको रूपमा मनाइरहेका छन् । शिक्षण पेसा अन्य पेशाभन्दा बढी परिश्रम र जवाफदेहिता मांग्ने पेशा हो, त्यसैले शिक्षकहरूको आत्मबल र मनोबललाई निरन्तर रूपमा उचो राख्न आवश्यक छ।

विश्व शिक्षक दिवसलाई वास्तवमै अर्थपूर्ण बनाउन नेपालका शिक्षकहरूमा खस्कँदै गएको आत्मसम्मान, उत्साह र समाजले हेर्ने दृष्टिकोणमा व्यापक सुधार ल्याउन आवश्यक छ । सर्वप्रथम, शिक्षकहरूलाई राज्य र जनप्रतिनिधिले उचित सम्मान गर्नुपर्ने संस्कारको थालनी गर्नु जरुरी छ, जसको प्रभावमा आम सर्वसाधरण नागरिकहरूले पनि शिक्षकको कदर र मूल्याङ्कन गर्न सिक्नेछन् । शिक्षकप्रतिको सम्मान औपचारिकतामा मात्र सीमित हुनु हुँदैन, उनीहरूको योगदानलाई वास्तविक रूपमा मूल्याङ्कन गर्दै प्रशंसा र सहयोगको भावना देखाउनु आवश्यक छ ।

मानव सभ्यतालाई यो उचाइमा पुर्‍याउने मुख्य आधार शिक्षा हो र शिक्षालाई मानव समुदायमा बीजारोपण गर्ने व्यक्ति शिक्षक हुन् । यसर्थ, हामी भन्न सक्छौं कि समकालीन मानवजातिको सम्पूर्ण उपलब्धिका महानायक शिक्षक नै हुन् । तर नेपालमा शिक्षकहरूले पाउनु पर्ने उचित सम्मान अनि सुविधा भने अहिले सम्म प्राप्त गरेका छैनन् । त्यसैले, नेपालमा शिक्षकको सम्मान गर्ने सभ्य संस्कृति विकास गर्नु अहिलेको मुख्य चुनौति हो ।

भनिन्छ, “शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ, शिक्षक दौड्यो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ।” यो भनाइले स्पष्ट गर्छ कि शिक्षण पेशा अत्यन्त संवेदनशील, जटिल र चुनौतीपूर्ण छ । शिक्षकको हरेक गतिविधिले विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ, त्यसैले यस पेशालाई हामी सबैभन्दा कठिन पेशा भन्न सक्छौं।

विद्यालयमा विद्यार्थीहरूमा उत्सुकता जगाउने, उत्प्रेरणा दिने, सिक्न प्रेरित गर्ने, सिकेको व्यवहारमा उतार्न प्रोत्साहन गर्ने, हौसला दिने, मनोबल बढाउने, खेल्न, नाच्न, हास्न र बालमैत्री वातावरण निर्माण गर्न महत्त्वपूर्ण जिम्मेवारी शिक्षकको हुन्छ । शिक्षकको पेशाले नै हाम्रा छोराछोरीहरूको भविष्यको मार्गचित्र कोर्छ । त्यसैले, अभिभावकहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूप्रति कहिल्यै आत्मसम्मानमा चोट पुर्याउने कुनै पनि तुच्छ व्यवहार कहिल्यै नगरौ । अभिभावकहरूले शिक्षकको सम्मानरकदर गर्नाले बालबालिकाप्रति अझ जिम्मेवार र सचेत बन्नेछन् शिक्षकहरु ।

अन्त्यमा, शिक्षक ज्ञानका मात्र नभई प्रेरणाका पनि स्रोत हुन्। शिक्षा मानव सभ्यताको उन्नति र प्रगतिको मुख्य स्तम्भ हो, र यस स्तम्भलाई मजबुत बनाउने व्यक्ति शिक्षक नै हुन्। शिक्षकको भूमिका बिना शिक्षा सम्भव छैन, किनकि उनीहरूले मात्र ज्ञानको बीउ रोप्न, जीवनदर्शन दिन र उज्यालो भविष्यको मार्ग प्रशस्त गर्न सक्ने क्षमता राख्छन् । त्यसैले, आदरणीय शिक्षकज्यूहरू प्रतिको सम्मान सधैं कायम राख्नुपर्छ । विश्व शिक्षक दिवसको अवसरमा, मेरा सम्पूर्ण गुरुजनलाई सम्झँदै आदरणीय सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।


सम्बन्धित समाचार