Logo

२० असोज,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेलीले आफूले नगरसभा गर्न असफल भएपछि अहिले कर्मचारीलाई आरोप लगाएर पन्छिन खोजका छन् । नगरसभा गर्नुपर्ने नगरप्रमुखको जिम्मेवारी र दायित्व भएपनि नगर प्रमुख तेली भने जिम्मवारी र दायित्वबाट पन्छिएर नगरको समग्र विकास बन्धक बनाउन तल्लिन रहेको नगरवासीको आरोप छ ।

नगर प्रमुख तेलीले बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिहरु बीचको विवाद अहिले कर्मचारी संयन्त्रमा समेत प्रवेश गराएका छन् । नगरपालिकाले विज्ञापन गरेर भर्ना लिईएको स्वास्थ्य सेवाको हे.ई. समूह अन्तर्गत अ.हे.ब. पदमा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले मनोमानी गरेको र आर्थिक चलखेल समेत गरेको आरोप लगाएर नगर प्रमुख तेलीले आफ्नो कमजोरीलाई लुकाउन खोजेका छन् ।

संघीयताको मूल आधार वडाहरुको विकासका लागि विनियोजन गरिने बजेटमा अध्यक्षहरुलाई नदिईएर नगर स्तरीय बजेट मार्फत विकास गर्न खोजेका नगर प्रमुख तेलीले आफ्नो अनुकूलतामा नगरसभा नहुने देखेपछि अहिले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्ने चलखेल गरेका छन् ।

नगर प्रमुख र वडाका जनप्रतिनिधिहरु बीचको आपसी विवादलाई कर्मचारी तहसम्म पुर्‍याउने  काम स्वयं नगर प्रमुख सिंगासन सा तेलीले गरेका छन् । नगरसभा गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत मुस्तफा कानूनी रुपमा तयार रहेपनि नगर प्रमुख तेलीले भने अनुसारको अवैधानिक कामहरु गर्न नमान्दा उनी रहुञ्जेल नगरसभा नगर्ने मनस्थिति नगर प्रमुखले बनाएका छन् ।

उनले प्रमुख प्रशासकीय अधिकृतलाई नै आर्थिक चलखेलको आरोप लगाएका छन् । आफूलाई भर्ना छनोटमा आर्थिक चलखेल भएको लिखित निवेदन नै दिएकोले सोही आधारमा आफूले भर्ना कार्यान्वयन नगर्न सूचना निकालेको बताए । नगरसभा भने चाडपर्व नजिकै आएकोले अब दशैंपछि मात्रै नगरसभा गर्ने नगर प्रमुख तेलीले बताए ।

नगर प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतमाथि आरोप लगाएर प्रकाशित गरेको सूचनाले पनि नगर प्रमुखको स्वार्थ लुकेको देखिन्छ । संघीयतामा स्थानीय तहको सरकार गाउँको सिंहदरबार हो । तर, स्थानीय सरकारको आफै कार्यकारी प्रमुख भएर पनि सूचनामा भने आफू अझै काठमाडौंको सिंहदरबारमै रहेको भावले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेका छन् ।

‘व्यापक जनगुनासो आएको भन्दै जनप्रतिनिधिलाई दोषी देखाई आर्थिक चलखेलको आरोप लगाई नतिजा प्रकाशित गरिएकोले उक्त नतिजा कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएका छन् । उनी गाउँको सिंहदरबारका कार्यकारी प्रमुख हुन् । जनगुनासो व्यापक आएको भए भर्ना छनोटकै क्रममा रोक्न सक्थें ।

भर्ना छनौट समितिमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख लगायतका सदस्यहरु सम्मिलित रहेका हुन्छन् । नगर प्रमुख तेलीले नतिजा प्रकाशनपछि समितिका अन्य सदस्य बाहेक प्रमुख प्रशासकीय अधिकृत एक्लैमाथि आरोप लगाउदै नतिजा प्रकाशन कार्यान्वयनमा नगर्न नगराउन निर्देशन दिनुले पनि उनले स्वार्थ अनुकूल नभएपछि सूचना निकालेको बुझ्न सकिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले आफू माथि लगाएको आरोप निराधार रहेको बताए । आफूले नियम कानून भन्दा बाहिर गएर गर्न नमान्दा नगर प्रमुखले आरोप लगाएको प्रतिक्रिया दिए । भर्ना छनोटमा नगर प्रमुख तेलीका पनि दुईजना उम्मेदवार सहभागी रहेको र छनौटका क्रममा फेल भएपछि आफूमाथि त्यस्तो आरोप लगाएको बताए ।

विधि र प्रकृया मिचेर नगर प्रमुखका मान्छे पास नगराउँदा लगाईएको आरोप प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने अस्वीकार गरे । नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथि लगाईएको आरोप नगरपालिकाका जनप्रतिनिधिहरु पनि मान्न तयार छैनन् ।

वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले प्रमुख प्रशासकीय अधिकृतमाथिको आरोप अस्वीकार गर्दै तेली माथि नै रकम लेनदेन गरेर भर्ना गर्न खोजेको आरोप लगाएका छन् । नगर प्रमुखले पहिले नै उम्मेदवारहरुसँग रकम लिईसकेको र भर्ना छनोटमा उम्मेदवार फेल भएपछि प्रमुख प्रशासकीय अधिकृतमाथि आरोप लगाएको बताए ।

नगरप्रमुख आफूले पालिकाको बजेटमा भ्रष्टाचार गर्न नपाउँदा अन्य जनप्रतिनिधि र कर्मचारीहरुमाथि आरोप लगाउने गरेको वडा अध्यक्ष जितेन्द्र पटेलको भनाई छ । नगरप्रमुख तेलीले भ्रष्टाचार र अनियमितता गर्न नपाउने भएपछि नगरसभा नै नगर्ने मनस्थिति बनाएको बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले बताए ।

उनले भने, “नगरसभा बोलाउने नगर प्रमुखको काम हो । उहाँले अहिलेसम्म पत्राचार गरेको छैन । नगरसभा गर्नु भन्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न लाग्नु भएको छ । अर्को प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरसभा गर्छु भनेर काठमाडौंतिर दौडधुप गरिरहनु भएको छ ।

सहमती गराउने बहानामा एकलौटी ढंगले मेयर हिडिरहनु भएको छ । मेयरले वडाको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागिरहनु भएको छ । नगरस्तरीय बजेट कमिसनको लागि विभिन्न तालिम, गोष्ठिहरुमा खर्च गर्ने र वडा स्तरीय बजेटले गरेको विकासलाई आफूले गरेको विकास भनेर जस लिन खोजी रहनुभएको छ ।” वडा अध्यक्ष पटेलका अनुसार नगरसभा नहुँदा वडा नम्बर ३, ८ र ९ को गत आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता समेत रोकिएको छ ।

सामुदायिक विद्यालयहरुको परीक्षामा समेत विद्यार्थीहरुसँग शुल्क उठाएर परीक्षा लिनुपर्ने अवस्था रहेको छ । स्वास्थ्य चौकीहरुमा औषधिको अभाव, चाडवाडको बेलामा कर्मचारीहरुले तलब पाएका छैनन् । बहुदरमाई नगरपालिकाका अन्य राजनीतिक दलका नेताहरुले पनि नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचारमा डुबेको बताउने गरेका छन् ।

नगरपालिकाका प्रमुखले आफ्नो दायित्व र जिम्मेवारीको समेत ख्याल नगरेको बताउदै नेता यादवले नगर परिषद समेत गराउन नसक्ने नगर प्रमुखको कार्यक्षमता माथि नै प्रश्न उठेको बताउछन् । उनी भन्छन्, “सबैको आ–आफ्नै क्षेत्राधिकारहरु हुन्छन् ।

नगर प्रमुख तेली नगरसभा गरेर नगरको विकास गर्नुभन्दा आफू अनुकूल काम नगर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न खोजी रहेका छन् । नगरकै पक्षमा आफ्नो वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु विरोधमा छन् । आन्दोलनमा छन् । कि त स्थानीय शासन सञ्चालन ऐन, नै परिवर्तन गर्नुपर्‍यो । देशको संविधान, ऐन, कानून र व्यावस्थालाई नमान्ने पैसाको बाँडफाँड नमिल्दा नगरसभा नै नगर्नु नगरवासीमाथि अन्याय हो ।” नगर प्रमुखले पैसा होईन वडाहरुमा बजेट दिएर विकास कस्तो हुन्छ ? भनेर वाचडगको रुपमा हर्नुपर्ने नेता यादवको तर्क छ ।


सम्बन्धित समाचार