Logo

२१ असोज,काठमाडौं । चेन्नईको मरीना बिचमा आइतबार आयोजित एयर शोका क्रममा पाँच जनाको मृत्यु भएको छ ।

चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाको एयर शो आयोजना गरिएको थियो। त्यो हेर्न लाखौं मानिस आएका थिए । तर, अत्यधिक थकान र अन्य कारणले मानिसको मृत्यु भएको बताइएको छ ।
यो एयर शो भारतीय वायुसेनाको ९२औं वार्षिकोत्सवको अवसरमा अक्टोबर ६ मा आयोजना गरिएको थियो ।

दिउँसो १ बजे कार्यक्रम सकिएपछि समुन्द्र किनारमा उपस्थित भीडले तुरुन्तै त्यहाँबाट सर्ने प्रयास गरे । जसका कारण उक्त क्षेत्रका सबै सडकमा ट्राफिक जाम भएको थियो ।

सञ्चारमाध्यमका अनुसार लामो समयसम्म तातो लहरका कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारण २०० भन्दा बढी व्यक्ति बेहोस भएका थिए । ९० जनाभन्दा बढी सरकारी अस्पतालमा भर्ना भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सहरका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार समुद्र तटको अगाडि एक जनाको मृत्यु भएको हो । बाँकीको अन्य स्थानमा मृत्यु भएको छ । एयर शो हेर्न मरीना बिच गएका हजारौं मानिसको भीडमा यी सबै व्यक्ति थिए ।

तमिलनाडुका विपक्षी नेता र एआईएडीएमके प्रमुख एके पलानीस्वामीले यस घटनाको लागि डीएमके सरकारको निन्दा गरेका छन्। सरकारलाई आरोप लगाउँदै उनले यति ठूला कार्यक्रमलाई व्यवस्थित गर्न सरकार असफल भएको बताए ।

 


सम्बन्धित समाचार