Logo

२२ असोज,काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध हेटौँडाबाट–काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौँडाबाट–काठमाडौँ जोड्ने चार वटै सडक सञ्चालन भएको हो ।

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै पहिरो जाँदा हेटौँडाबाट काठमाडौँ जोड्ने चार वटा बाटो पूर्णरुपमा बन्द भएका थिए ।

बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सोमबारदेखि सञ्चालनमा आएका थिए ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी–प्रशासन र स्थानीय एवम् जनप्रतिनिधिको सक्रियतामा मर्मतसम्भार गरेर यी सडक सञ्चालनमा ल्याइएको हो ।

हेटौँडाबाट–भैंसे–टिष्टुङ हुँदै त्रिभुवन राजपथको नौबिसे सडकखण्ड बन्द भएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो । संघीय राजधानीसँगको पहुँच मार्ग अवरुद्ध हुँदा हेटौँडा–टिष्टुङ–चित्लाङ हुँदै चन्द्रागिरिको लामो र अप्ठ्यारोबाटो हुँदै हेटौँडा–काठमाडौं आउजाउ गरिँदै आएको थियो ।

हाललाई जिल्ला विपद् व्यवस्थापन समितिले फाखेल, सिस्नेरी र कान्तिलोकपथको बाटोमा साना सवारीलाई मात्र आउजाउ गर्न दिएको छ । बुधबारबाट कान्तिलोकपथको बाटो ठूला सवारी सञ्चालन गर्न दिने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

ठूला सवारीलाई हाल नारायणघाट–मुग्लिन र हेटौँडा–टिष्टुङ–नौबिसे सडक खण्डको प्रयोग गर्न भनिएको छ । भर्खरै मात्र बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको कारण तत्काललाई ठूला सवारी आउजाउलाई अनुमति नदिइएको प्रहरीले जनाएको छ ।

फाखेल, सिस्नेरी र कान्तिलोकपथ भएर सोमबारमात्र १३ सयभन्दा बढी सवारी साधन हेटौँडा आउजाउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सम्बन्धित समाचार