Logo

२२असोज,दमौली । भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई मंगलबार पक्राउ गरेको हो ।

सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्च बहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्च बहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।


सम्बन्धित समाचार