Logo

२२ असोज,काठमाडौं । गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले बितेको ६ वर्षमा नेपालमा करिब तीन खर्ब रुपैयाँ खर्च गरेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्को तथ्यांकानुसार, आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्मको अवधिमा नेपालमा उनीहरूले उक्त रकम खर्च गरेका हुन् ।

उक्त अवधिमा देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरी एनजीओ र आईएनजीओले दुई खर्ब ९६ अर्ब ८६ करोड ३० लाख १४ हजार २८८ रुपैयाँ खर्च गरेको देखिन्छ ।

परिषद्को तथ्यांकानुसार, पछिल्लो ६ वर्षमा नेपालमा एनजीओले एक खर्ब ५५ अर्ब ६७ करोड ४७ लाख पाँच हजार ३४२ रुपैयाँ खर्च गरेका छन् । सोही समयमा आईएनजीओले एक खर्ब ४१ अर्ब १८ करोड ८३ लाख आठ हजार ९४६ रुपैयाँ खर्च गरेको देखिन्छ ।

बितेको ६ वर्षमा आईएनजीओको तुलनामा एनजीओले नेपालमा १४ अर्ब ४८ करोड ६३ लाख ९६ हजार ३९६ रुपैयाँ बढी खर्च गरेको परिषद्को तथ्यांकले देखाउँछ ।

नेपालमा एनजीओले आर्थिक वर्ष २०७५/७६ मा १६ अर्ब ६१ करोड ४८ लाख ८५ हजार २२१, २०७६/७७ मा १७ अर्ब ८६ करोड ४३ लाख ८१ हजार ५६२, २०७७÷७८ मा १४ अर्ब ६२ करोड ६२ लाख ७१ हजार २६५ रुपैयाँ खर्च गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८, २०७९/८० मा ३१ अर्ब ४९ करोड ८४ लाख २३ हजार ४७९ र २०८०/८१ मा ३५ अर्ब २६ करोड ८८ लाख ११ हजार ५९७ रुपैयाँ नेपालमा एनजीओले खर्च गरेको देखिन्छ ।

आईएनजीओले भने पछिल्ला वर्षहरूमा नेपालमा आफ्नो खर्च कटौती गर्दै लगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ देखि आईएनजीओले नेपालमा आफ्नो खर्च घटाउँदै लगेका हुन् ।

परिषद्का अनुसार, गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा सञ्चालित आईएनजीओले २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार ६०६ रुपैयाँ खर्च गरेका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा आईएनजीओले नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गर्न ३० अर्ब ४८ करोड ९१ लाख ३५ हजार ७८५ रुपैयाँ खर्च गरेका थिए ।

पछिल्लो ६ वर्षमा आईएनजीओले सबैभन्दा बढी खर्च आर्थिक वर्ष २०७८÷७९ मा गरेका थिए । उक्त वर्ष आईएनजीओहरूले ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८ रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ ।

परिषदको तथ्यांकानुसार, आर्थिक वर्ष २०७५÷७६ मा २५ अर्ब २७ करोड २५ लाख ३१ हजार ५१७, २०७६÷७७ मा १८ अर्ब ९३ करोड २२ लाख सात हजार ४१६ रुपैयाँ नेपालमा आईएनजीओले खर्च गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आईएनजीओको खर्च पाँच अर्ब ११ करोड ६ लाख ४८ हजार ४०४ रुपैयाँ थियो ।

नेपालमा सञ्चालित एनजीओ तथा आईएनजीओले आफ्नो बजेट तथा कार्यक्रम समाज कल्याण परिषद्बाट स्वीकृत गराएपछि मात्र खर्च गर्न पाउँछन् । हाल परिषद्मा १३५ आईएनजीओ र ५७ हजार एनजीओ दर्ता छन् ।

०३४ असोज ६ गते ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’का रूपमा स्थापित गैरसरकारी संघसंस्थाको नियमनकारी संस्था ०४९ सालमा ‘समाज कल्याण ऐन, २०४९’ जारी भएपछि नाम परिवर्तन गरेर समाज कल्याण परिषद् राखिएको थियो ।

परिषद् स्थापना भएपश्चात् एनजीओको संख्या तीव्र गतिमा बढ्दै आएको छ । दर्ता भएका सबै एनजीओ सञ्चालनमा भने छैनन् ।

 


सम्बन्धित समाचार