Logo

२२ असोज,रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक्ता भएको बताएका छन् । दलाल दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजु्ट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने उनले आह्वान समेत गरेका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलाल दलतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’ आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुक आर्थिक संकट तथा प्राकृतिक विपतीबाट गुज्रिरहेको छ । तर सरकार कहाँ छ भनेर पीडितले खोज्दा समेत न्याय नपाउँने अवस्था छ । सरकारमा भएकाहरुको कसरी लुटने भन्ने बिषयमा ध्यान केन्द्रित छ ।’

लुटकारी दलाल दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधिश’ले लुट मचाएको बताए । मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन् ।

‘अहिले दलीय लुटकारी व्यवस्था छ । यस्तो व्यवस्थाले जनताको कल्याण हुदैन् । जनताको चाहना समृद्धि रहेको छ । तर दलका मुखियाहरुले आफ्नो गुट र समूहका लागि काम गर्ने गरेका छन्’ उनले भने, ‘लोकतन्त्रमा दलको नभई जनताको शासन हुनुपर्ने हो । तर अहिले लुटकारी दलाल दलीय व्यवस्था छ । दलमा पनि मुख्य नेता र त्यसपछि त्यसका वरिपरि, गुट, समूह र आसेपासे मोटाउने, लुटने र संरक्षण गर्ने काम भईरहेको छ । यस्तो व्यवस्थाले जनताको चाहना पुरा हुन सक्दैन् । यो व्यवस्थाको अन्त्येष्टि गर्नैपर्छ ।’

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै बर्गहरु अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको बिरुद्धमा आवाज उठाउदै आएको बताउँदै उनले अब एकजुट भएर आन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।

२४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा मार्फत तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष साहले त्यसयता निरन्तर बिभिन्न कार्यक्रम मार्फत आम जनताको शासनका लागि संघर्षमा उत्रिनुपर्ने आवश्यक्ता औल्याउँदै आएका छन् । आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।

आजपाका स्थानीय नेता राजेन्द्र महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष एवं पुर्वसंसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुषावाहा, महिला मोर्चाको अध्यक्ष बबिता साह साथै आजपाका नेताकार्यकर्ताको विशेष सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार