Logo

२३ असोज,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले भने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज जसपाको वीरगञ्ज महानगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै मेयरमाथि दुव्र्यवहार गर्ने वीरगन्ज–१७ अलौका शिवओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै महानगर अध्यक्ष यादवले महानगरका मेयर सिंहमाथि दुव्र्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

मेयर सिंहमाथि दुव्र्यवहारको प्रयास गर्नु निन्दनीय र अराजकता भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न जसपाले ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रहपनि गरेको छ ।

साथै डुबानको पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै जसपाले आपत्ति समेत जनाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही अगाडि बढाउने बताए ।

उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र स्थानीय प्रशासनमा पनि निवेदन आएको बताउँदै डुबानबाट बचाउन सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

ज्ञापनपत्र बुझाउन जसपा नगर अध्यक्ष इश्वर चन्द्र यादव, उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार