Logo

२५ असोज, रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।

‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’

जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।

अहिले बाढीपहिरो, डुबानले जनता राहतको पर्खाईमा रहेको बताउँदै उनले सांसदहरु उनीहरुको आवश्यक्ता नै बुझन नसकेको टिप्पणी उनले गरे । मुलुक र जनताको अवस्था गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउँनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरु बाटो विराएको बताए ।

दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।

‘बडादशैं, शुभ दिपावली तथा छठी माताले सांसदहरुलाई सदबुद्धि दिउन, जनताको पक्षमा बोल्ने शक्ति प्रदान गरुन, सरकारको गलत कामको विरोध गरुन र मुलुकको बारेमा आवाज उठाउने शक्ति प्रदान गरुन भन्ने म कामना गर्न चाहन्छु’ साहले भने ।

आफ्ना दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुदाहुदै समेत सांसदहरुले विरोध नगर्नु, जनतको कुरा नसुन्नु, दलका नेताहरुको आदेश पालक नभई जनताको आदेशपालक सांसद हुनुपर्ने उनले बताए ।

कार्यक्रममा आजपाका महासचिब त्रिभुवन साह, नगरप्रमुख रीना कुमारी साह, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, आम मुस्लिम मोर्चाको अध्यक्ष लालबाबु मंसूरी, आजपाको स्थायी समिति सदस्य श्रीभगवान पटेल, रन्जु कुमारी साह, सरोज बछाड, बिगु पासवान लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार