Logo

२६ असोज,काठमाडौं । इजरायल र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । यसबीचमा शक्ति राष्ट्रहरू पनि ध्रुवीकृत हुन थालेका छन् ।

इजरायल अमेरिकाको भरोसामा रहेका बेला रुसले इरानको पक्ष लिएको छ । रुसले इजरायललाई उक्साएको भनेर पश्चिमी देशहरूको आलोचना पनि गरेको छ ।

अहिले इजरायलले कुनै पनि बेला इरानमाथि प्रत्याक्रमण गर्न सक्ने अनुमान गरिँदैछ, तर रुसले यस आक्रमणअघि नै कडा चेतावनी दिएको छ।

लाओसको भियनटियानेमा आयोजित एक पत्रकार सम्मेलनमा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले इजरायली आक्रमणले क्षेत्रीय तनावलाई बढाउने चेतावनी दिएका छन् ।
उनले भने, ’यदि इरानको असैन्य परमाणु प्रतिष्ठानहरूमा आक्रमणको कुनै धम्की आएको खण्डमा अन्तर्राष्ट्रिय समुदायले यसलाई गम्भीर उक्साहटको रूपमा लिनेछ ।’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेशकियन पहिलो पटक शुक्रबार तुर्कमेनिस्तानको अश्गाबातमा भेटेका थिए । दुवै नेताले पश्चिम एशियामा हालैको अवस्थाबारे छलफल गरे ।

जानकारी अनुसार, यी दुई देशबीच ड्रोन र अन्य रक्षा उत्पादनहरूका लागि १.७ बिलियन डलरको निर्यात सम्झौता भएको छ। पुटिनले खुलेरै इरानको समर्थन गर्दै इजरायललाई चेतावनी दिए, ’इरानमाथि आक्रमण गर्ने साहस नगर्नू ।’

इरानले इजरायलमाथि किन गरेको थियो आक्रमण?

अक्टोबर १ मा इरानले इजरायलमाथि लगभग १८० ब्यालिस्टिक मिसाइलहरूबाट एकैसाथ आक्रमण गरेको थियो।

इरानले यो आक्रमण हमास नेता इस्माइल हानिया, हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसीका जनरल अब्बास निलफोरूशानको हत्या बदला स्वरूप गरेको बताएको थियो।

यी सबै नेताहरू इजरायली आक्रमणमा मारिएका थिए।

बदला लिने तयारीमा इजरायल

इजरायलले इरानसँग बदला लिने प्रतिज्ञा गरेको छ। रिपोर्ट अनुसार, इजरायलको आक्रमण अझ घातक हुने सम्भावना छ।

इजरायल इरानको परमाणु कार्यक्रम र तेल प्लान्टहरूमा आक्रमण गर्ने योजनामा रहेको बताइएको छ । इरानले आफूमाथि कुनै किसिमको आक्रमण भए अझै शक्तिशाली प्रतिवाद गर्ने चेतावनी दिएको छ ।


सम्बन्धित समाचार